कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
297

इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसनको निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ । एसोसियसनको ३२औं केन्द्रीय कार्यकारिणी निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको हो ।
समूहका तर्फबाट अध्यक्षमा प्रधान, उपाध्यक्षमा चण्डिका प्रसाद भट्ट, महासचिवमा अभिमन्यू लाल सिंह, उपमहासचिवमा अशोक कुमार शाह, कोषाध्यक्षमा अपील केसी र सहकोषाध्यक्षमा जानुका थापा रहेका छन् । त्यस्तै लोकतान्त्रिक समूहका तर्फबाट सदस्यहरुमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्य बहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, ज्योति मणि भट्टराई, भेषराम पोख्रेल, उमेश प्रसाद चौधरी, सुर्दशन भण्डारी र दिनेश अर्याल रहेका छन् ।

अध्यक्षका उम्मेदवार प्रधानले आफू स्पष्ट दृष्टिकोणका साथ निर्वाचनमा होमिएको बताए । उनले आफ्नो एजेण्डाबारे भने, “इन्जिनियरिङ अध्ययन पूरा गरेकाहरुको रोजगारी तथा सेवारतहरुको सेवासुविधा वृद्धि र क्षमता अभिवृद्धिलाई विशेष महत्व दिनेछौं ।” इन्जिनियरिङ शिक्षालाई गुणस्तरीय बनाउने विषयलाई पनि आफूहरुले उच्च प्राथमिकता दिएको उनले बताए । इन्जिनियर्स एसोसियसनको निर्वाचन मंसिर २८ गते हुँदैछ । जसमा देशभरका १७ हजार भन्दा बढी इन्जिनियरहरुले मतदान गर्नेछन् । प्रत्येक प्रदेशमा समेत लोकतान्त्रिक समूहले प्यानल घोषणा गरेको छ ।
प्रदेश नम्बर ३ मा लोकतान्त्रिक समूहका तर्फबाट इन्जिनियर सुवासचन्द्र बरालको नेतृत्वमा प्यानल घोषणा भएको छ । जसमा उपाध्यक्ष श्याम किशोर सिंह, सचिव विक्रम खतिवडा, सहसचिव कुशल पौडेल, कोषाध्यक्ष विप्लव घिमिरे र सदस्यहरुमा सन्तोष अर्याल, विशाल दाहाल, निलकमल शाही, रुपेश भट्ट, सन्तोष पोख्रेल, मन्दिप दाहाल, बोधराज दाहाल, राम स्वरुप महासेठ, दीपक बहादुर रावल, हरिनारायण राय यादव उम्मेदवार बन्ने भएका छन् ।