महादेव अवस्थी
बिहिवार, मंसिर २०, २०७५
185

कञ्चनपुर-झण्डै डेढ वर्षअघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरे । नेपाल–भारत सीमा क्षेत्रमा पर्नेे आनन्द बजार नजिक कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर सहिद भएका गौतमको परिवारलाई सरकारले दिएका वाचा अझै पूरा गर्न सकेको छैन ।
तत्कालीन सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै उनका परिवालाई रोजगारीको व्यवस्था गर्ने र उनका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने वाचा गरेको थियो । सीमा रक्षाका क्रममा सहिद भएका गौतम ढलेपछि तत्कालीन सरकारका गृहमन्त्री पनि केही राहत रकम लिएर पुनर्बास पुगे । वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही राहत सहिद परिवारलाई हस्तान्तरण गरेका थिए । ती सहिद परिवारलाई आश्वासनका पोका सबैजसो नेताहरूले बाँडेकै हुन् । अहिले न त निःशुल्क शिक्षा नै छ, न त उनको परिवारलाई रोजगारी नै ।

सरकारको आश मरेपछि सहिद पत्नी लक्ष्मी गौतम रोजगारी खोज्दै काठमाडौं पुगेकी छन् । उनले सरकारको आश मरिसकेको बताउँदै आफैं केहि गरौं भनेर रोजगारीको लागि काठमाडौं पुगेको बताइन् । तीन छोरी रहेका गौतमकी पत्नी लक्ष्मी गौतमले छोरीहरूको स्थानीय विद्यालयमा अध्ययन चलिरहेको बताइन् । उनले भनिन्, “घटनाका बेला पाइएका धेरै आश्वासनहरू पूरा भएनन् ।” घटनाका बेला पुनर्बास नगरपालिकाले पनि आफूलाई रोजगारी दिने बताएको लक्ष्मीले बताइन् । उनले भनिन्, “मलाई पनि कहिँकतै जागिर दिइएको छैन । सरकारले घोषणा गरेको १० लाखसँगै सबैतिरबाट सहयोग जुटेको थियो । अहिले रोजगारीका लागि दौडधुप गरिरहेको छु । राहत दिने धेरै प्रतिवद्धताहरू औपचारिकताका लागि रहेछन् ।”
त्यसैगरी स्थानीय तहले आनन्द बजारमा सहिद गौतमको शालिक बनाउने भनेको थियो । तर त्यो कामको सुरुवात गरिए पनि अझै सम्पन्न गर्ने सुरसार छैन । “शालिक बनाउने काम अझै भएको छैन । तर निर्माण भइसक्नेमा आशा मर्दै गएको छ,” पत्नी लक्ष्मीले भनिन् । सहिद गौतमका परिवारले नै सीमा नजिकै रहेको आनन्द बजारमा गोविन्दको शालिक निर्माण गरिदिन माग गरेका थिए ।
कञ्चनपुरका समाजसेवी मदन चन्दले देशका लागि ज्यान दिएका सहिद गोविन्द गौतमका परिवारलाई सरकारले दिएको वाचा पूरा गर्न नसकेको बताए । उनले भने, “त्यो बेला देशमा चुनावी माहोल चलेको हुनाले होला सबै पार्टीका नेता पुगे र आश्वासन दिए । तर, सरकारले झुक्याउने काममात्र गरेको छ ।” उनले अहिले सहिदको परिभाषा नै परिवर्तन भएकाले वास्तविक सहिदले सम्मान पाउन नसकेको बताए ।
पुनर्बास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले सहिद परिवार सम्पर्कमै नआएको बताए । उनले भने, “हामीसँग सम्पर्क गरेकै छैन । सहमति पनि केहि भएको छैन ।” सहिद गौतमको शालिक बनाउन भनेर नगरपालिकाले ५ लाख बजेट छुट्याए पनि त्यसको सुरसार केही नभएको उनले जानकारी दिए ।
त्यसैगरी तीन महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणका विषयमा चलिरहेको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सनी खुनाले शहादत प्राप्त गरे । लगत्तै सरकारले खुनालाई सहिद घोषणा गर्दै दश लाख दिने घोषणासमेत गरेको थियो ।
संघीय सरकार र भीमदत्त नगरपालिकाबाट घोषणा गरिएको राहत रकम पाइसकेको सनी खुनाका बुबा बीरबहादुर खुनाले बताए । खुनाकी आमा मञ्जु खुना अहिले भीमदत्त नगरपालिका कार्यालयमा ज्यालादारीमा कार्यरत छिन् । भीमदत्त नगरपालिकामै सरसफाइको काम गर्दै आएका बीरबहादुरले छोराको शालिक बनाउने आश्वासन पाएको बताए ।