कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
247

कञ्चनपुर-चार महिना बित्नै लाग्दा समेत बालिका निर्मला पन्तको हत्याराको पहिचान गरी कानुनी दायरामा नल्याएको भन्दै महेन्द्रनगरका स्थानीय तथा महिला अधिकारकर्मी चरणबद्ध आन्दोलनमा छन् । गत कात्तिक २५ गतेदेखि अनिश्चित कालीन धर्नामा बसेका निर्मलाको परिवार स्थानीय, महिला अधिकारकर्मीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् ।
बुधबार स्थानीयसहित अधिकारकर्मीहरुले न्याय हराएको भन्दै दिउँसै टर्च बालेर प्रर्दशन र धर्ना दिएका छन् । न्यायका निम्ति हरेक क्षेत्रबाट माग गर्दा पनि सरकारले उदासिनता देखाएको भन्दै न्यायको माग गर्दै स्थानीय महिला अधिकारकर्मी चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको फोटो अंकित तस्वीर पनि बोकेका थिए । ‘पोल पोलमा सरकार, टोल टोलमा बलात्कार’, ‘न्याय मर्न दिदैनौ’ जस्ता नारा लगाउँदै न्याय हराएको भन्दै टर्च बालेर बजार परिक्रमा र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ ।

घटनाको भएको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले जनाएको छ । महिला अधिकारकर्मीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताएका छन् । उनीहरुले न्याय मर्न नदिने बताउँदै न्यायका लागी संघर्ष जारी राख्ने जानकारी दिए । अधिकारकर्मीहरुले निर्मला जस्ता छोरीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।
यसअघि, नागरिक संघर्ष समितिले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए भने मंगलबार सडकमै सुतेर विरोध जनाएका थिए । तर, बुधबार भने संघर्ष समितिले हराएको न्याय खोज्न लागेको भन्दै टर्च बालेर विरोध प्रदर्शन गरेका छन् ।
धर्नाका क्रममा निर्मलाका बुबा यज्ञराजको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंमा उपचाररत छन् । निर्मलाकी कान्छी आमा लक्ष्मीले अनिश्चितकालिन धर्नालाई निरन्तरता दिएकी छन् । संघर्ष समितिले सार्वजनिक गरेको चार दिने शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार मानव साङ्लो बनाउने कार्यक्रम रहेको नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले बताइन् ।