कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
553

भीमदत्तनगर- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको रगतको नमूना संकलन गरिएको छ । निर्मलाको शरीरबाट संकलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा नमुना संकलनका लागि निवेदन दिएकी थिइन् ।
प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उनको नमूना संकलन गरेको जनाएको छ । “घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,” दुर्गादेवीले भनिन्, “आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।”

निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत संकलन गर्न मानेका छैनन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिए । प्रहरी उपरीक्षक कुबेर कडायतले संकलन गरिएको निर्मलाकी आमाको रगत परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्ट प्रयोगशालामा पठाइने बताए ।
निर्मलाको गत साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा शव भेटिएको थियो । उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।