रेशमराज रोकाया
शुक्रवार, माघ २५, २०७५
379

हुम्लामा बुधबार रातिबाट लगातार हिमपात हुँदा जनजीवन कष्टकर भएको छ । हिमपातले हुम्लाका अधिकांश वस्तीमा चिसो अत्यधिक बढाएको छ ।
चिसोले गर्दा स्थानीयलाई घर बाहिर निस्कन समेत मुस्किल भएको छ । एक पटक परेको हिउँ पग्लन नपाउँदै अर्को पटक लामो समयसम्म हिउँ पर्दा सबैलाई कठिन बनाएको छ । यसअघि करिब ५ फिट हिउँ जमेको बिलाउन नपाउँदै पुनः सुरु भएको हिमपातले स्थानीयलाई थप समस्या बनाएको छ ।

चैतमा एसईई परीक्षा तयारी गर्नको लागि सदरमुकाम सिमकोट बसेका परीक्षार्थीलाई अझ बढी समस्या भएको छ । खाना पकाउनको लागि दाउरा हिउँले पुरेको, बत्ति नियमित आपूर्ति नभएका कारण उनीहरुलाई समस्या परेको हो । अत्यधिक चिसोका कारण पढ्न नसकिएको परीक्षार्थीले बताउने गरेका छन् । खुला कक्षा कोठामा ट्युसन कक्षा लिनको लागि थप समस्या हुने गरेको छ ।
हिमपातले माइनस १८ सम्म पुगेको तापक्रम अझै घट्न सक्ने अनुमान मौसमविद्ले गरेका छन् । जाडोले दीर्घरोगीलाई समस्या बनाएको छ । दम, निमोनियालगायतका रोगीलाई गाह्रो भएको छ । पानीका मुहान बाहेक खानेपानीको धारामा पानी जमेर बरफ नै बनेको छ । सदरमुकामसँग अझै पनि दक्षिणका सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोट र उत्तरी नाम्खा गाउँपालिका पूर्णरुपमा सम्पर्क विच्छेद अवस्थामा रहेका छन् । हिमपात अझै केही दिन लम्बिन सक्ने मौसमविद्ले बताएका छन् ।
हिमपातका कारण जिल्ला बाहिर काम विशेषले जाने यात्रुले यात्रा गर्न पाएका छैनन् । एक मात्र रहेको यातायातको साधन हिमपातका कारण रोकिएपछि यस्तो समस्या भएको हो । हुम्लामा जिल्ला बाहिर जानको लागि सबैले यस्ता समस्या भोग्ने गरेका छन् । बिरामी र अन्य काम भएका हुम्लीको लागि अझ बढी समस्या भएको छ । विमानस्थलमा हिउँ बाक्लो जमिसकेको छ ।
हिमपातले किसानलाई भने राहत मिलेको छ । गएको मंसिर महिनामा असारे बाली छरेका किसानको लागि यो वर्षको अत्यधिक हिमपातले गर्दा सिँचाइको लागि अति नै उत्तम मानिएको छ । खडेरी परिरहने अधिकांश हुम्लाका बस्तीलाई यो हिमपातले सुविकाल लिएर आएको छ । हिमपात हुनु भनेको हुम्लाको लागि सुखद् मानिने गर्दछ । गएको ४ वर्षदेखि हुम्लामा खासै राम्रोसँग हिउँ नपर्दा स्थानीय किसानले खडेरीको मार पर्ने गरेको भएता पनि यो वर्ष बालीनाली राम्रो हुनेमा आशावादी रहेका छन् । पशुपालक किसानलाई भने समस्या बनाएको छ । पशुलाई भण्डारण गरेर राखेको घाँसपातको भण्डार रित्तिँदै जाँदा कसरी पाल्ने भन्नेमा पशुपालक चिन्तित रहेका छन् । वनमा चराउनको लागि अधिकांश घाँसको स्रोत हिमपातका कारण छोपिएको कारण चराउन समस्या भएको सर्केगाड गाउँपालिका वडा नं. ७ का पशुपालक भैया छत्यालले बताए ।