मेगराज खड्का
सोमवार, माघ २८, २०७५
262

९ महिनामा डेढ सय घटना

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षिय सत्तबहादुर बुढाले गत मंसिर १ गते राति श्रीमति र छोराको हत्या गरे । श्रीमति ४२ वर्षिया इन्द्रकला बुढालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षिय प्रकाश बुढालाई खुकुरी प्रहार गरेर बुढाले हत्या गरेका हुन् ।
श्रीमति र छोराको हत्या गरी बुढाले खुकुरीले घाँटी रेटेर आत्महत्याको प्रयाससमेत गरेका थिए । अत्यधिक मदिरा सेवन गरी बुढाले श्रीमति र छोराको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, जिल्लाको आठबीसकोट नगरपालिका १२ ठुलिवार्खुका ५२ वर्षिय रुद्रे पुनमगरले आफ्ना सहोदर भाइ ३४ वर्षिय इन्द्रे पुनको गत असार ६ गते राति हत्या गरे । चिर्पट प्रहार गरी भाइको हत्या गरेका पुन हत्याको भोलिपल्ट आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । राति सँगै बसेर रक्सी खाएको र घरायसी विवाद हुँदा भाइको हत्या गरेको पुनले प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काले जानकारी दिए ।
गत मंसिर २५ गते राति जिल्लाको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भयो । अत्यधिक मदिरा सेवन गरेका स्थानीय युवाहरूले आफ्नै घरमा सुतेका अध्यक्ष केसीलाई कुटपिट गरी टाउको नै फुटाइदिए । कुटपिटबाट घाइते भएका अध्यक्ष केसीको टाउकोमा ३ वटा टाँका लगाइएको थियो । कुटपिटका कारण अध्यक्ष केसी दुई सातासम्म थलिएका थिए ।
जिल्लाको मुसीकोट नगरपालिका–१२ मा गत पुस १ गते ३ जनाको मृत्यु भयो । नयाँ गाउँमा भएको एक बिहेमा सहभागी जिल्लाको सानीभेरी गाउँपालिका–९ मगरराङजाका ६३ वर्षिय खम्बु कामी, मुसीकोट नगरपालिका–११ लहुँ भलाक्चाका ५४ वर्षिय कमानसिंह सार्की र मुसीकोट नगरपालिका–१२ नयाँगाउँका २१ वर्षिय पलबहादुर विकको मृत्यु भएको थियो । उनीहरूको मृत्युको प्रमुख कारण मदिरा सेवन रहेको प्रहरीको भनाइ छ ।
उनीहरूले रक्सी सेवन गरेको र पोष्टमार्टम रिपोर्टमा मृत्युको अन्य कुनै कारण नदेखिएको जिल्ला प्रहरी प्रमुख खड्काले बताए । जिल्ला अस्पतालमा भएको पोष्टमार्टमको रिपोर्टलाई हेर्दा उनीहरूको मृत्युको अन्य कुनै कारण नदेखिएकाले मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको उनको भनाइ छ । त्यस्तै, गत सातामात्र जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–४ चाँपामा अर्का एक व्यक्तिको शव फेला प-यो । उनको पनि मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको र पोष्टमार्टम गर्दा अन्य कुनै कारण नदेखिएको प्रहरीको भनाइ छ ।
जिल्लामा हुने आपराधिक घटनामध्ये अधिकांश मदिरा सेवनकै कारण हुने गरेको प्रहरीले जनाएको छ । जिल्लामा हुने विभिन्न आपराधिक घटनामध्ये अधिकांश मदिरा सेवनकै कारण हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा ८० प्रतिशत आपराधिक घटना मदिराकै कारण हुने गरेको डिएसपी खड्काले जानकारी दिए ।
जिल्लामा भएको घटनाको कारण हेर्दा औषतमा ८० प्रतिशत घटना मदिरा सेवनकै कारण हुने गरेको उनको भनाइ छ । “हामीले यो वर्ष भएका घटनाको कारण केलाएर हेरेका छौं,” उनले भने, “जिल्लामा अधिकांश घटनाको प्रमुख कारण भनेकै मदिरा सेवन हो ।” उनका अनुसार बलात्कार, हत्य लगायतका घटना त शतप्रतिशत मदिराकै कारण हुन्छन् ।

९ महिनामा डेढ सय घटना
जिल्लामा यो वर्षको हालसम्म करिब डेढ सय आपराधिक घटना भएका छन् । गएको वैशाखदेखि पुससम्म १ सय ३९ वटा आपराधिक घटनाहरू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो वर्षको जेठ र भदौमा सबैभन्दा बढी २२÷२२ वटा घटना घएका छन् ।
जिल्लामा औसत प्रत्येक २ महिनामा एक जनाको हत्या हुने गरेको छ । त्यस्तै, प्रत्येक महिना ३ जनाले विष सेवन गरी आत्महत्या गर्ने गरेका छन् । महिनामा औसत १ जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ । यसका साथै प्रतिमहिना २ वटा ज्यान मार्ने उद्योग, २ वटा भवितव्य ज्यानका र प्रतिमहिना ३ वटा सार्वजनिक अपराधका घटनाहरू औसतमा हुने गरेको जिल्ला प्रहरी कार्यालयले तयार पारेको अपराध विवरणमा उल्लेख छ ।

मदिरा निषेध अभियानको घोषणा
जिल्ला समन्वय समिति रुकुम पश्चिमले जिल्लामा मदिरा निषेध अभियान थाल्ने घोषणा गरेको छ । जसअनुसार माघ ६ गतेदेखि जिल्लामा कुनै पनि मदिरा आउन दिएको छैन भने फागुन १६ पछि बिक्रीवितरण नै नगर्न व्यापारीहरूलाई अनुरोध गरेको छ । स्टक रहेको मदिरा तोकिएको समयभित्रै बिक्री गर्न र बिक्री नभएमा आ–आफ्नो कम्पनीमा फिर्ता गर्न भनिएको छ ।
प्रहरीले आपराधिक घटनाको प्रमुख कारक तत्व मदिरालाई मान्दै मदिरा नियन्त्रण सम्बन्धी योजना अघि सारेको थियो । जसमा जिल्ला समन्वय समितिले त्यसैलाई आधार मानी मदिरा आयात र सेवन रोक्ने निर्णय गरेको हो । यसका लागि जिल्ला, स्थानीय तह, वडा हुँदै टोलसम्म पुगेको प्रहरीले जनाएको छ । मदिरा सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको डिएसपी खड्काले बताए । त्यसका साथै हाल बजारमा प्रहरी र वडा कार्यालयहरूको सहयोगमा स्थानीय मदिरा भेटिएको फाल्ने अभियान चलाएको छ ।