कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
163

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अस्वस्थ र न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री गर्ने तीनवटा पसललाई कारबाही गरेको छ । विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको शनिबार गएको अनुगमन टोलीले स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरी दूषित खाद्यान्न वितरण गरेको फेला परेपछि कारबाही गरेको हो । अनुगमनका क्रममा माछापोखरीस्थित सूर्यदेव मिठाइ पसलमा पेडामा पिठो मिसाएको फेला परेकाले तीन किलो चाउमिन, २ किलो निम्की र दुई किलो फुरनदान जफत गरी पसल शिलबन्दी गरिएको विभागले जानकारी दिएको छ ।
यस्तै सितापाइलास्थित सेलवेज क्यास एन्ड क्यारीमा फापरको पिठो, प्रशोधित सूर्यमुखी तेल, प्रशोधित पानी, विस्कुट तथा जाम मापदण्डअनुरूप नपाइएकाले बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ ।

यस्तै सितापाइलास्थित सेलवेज क्यास एन्ड क्यारी सुपर मार्केटभित्र रहेको चिकेन स्टेसनको अनुगमन गर्दा कुखुराको मासु तार्न प्रयोग भइरहेको तेलको पोलारिटी परीक्षण गर्दा टोटल पोलार भ्यालु बढी भएकाले ४० लिटर तेल जफत गरी नष्ट गरिएको विभागले जानकारी दिएको छ । विभागले मोबाइल प्रयोगशाला भ्यान परिचालन गरी, काठमाडौंको माछापोखरी, बालाजु र सितापाइलास्थित विभिन्न होटल, रेष्टुरेन्ट, मिठाई पसल तथा डिर्पाटमेन्टल स्टोरमा अनुगमन गरेको थियो ।
उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने दूषित खाद्यान्न वितरण गरेकाले खाद्य ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जानकारी दिएको छ ।