इजाजतबिना सञ्चालन ट्राभल एजेन्सीमा शिलबन्दी
मनोरन्जन शर्मा
मंगलबार, जेठ २९, २०७५
287

रुपन्देहीका तीन ट्राभल एजेन्सीमा शिलबन्दी भएको छ । संयुक्त जिल्ला अनुगमन समितिले सिद्धार्थनगर–१ बेलहियमा बिना इजाजत सञ्चालित तीन ट्राभल एजेन्सीमा शिल गरेको हो । बिना अनुमति पर्यटकीय गतिविधि गरिरहेको थाहा भएपछि सोमबार अनुगमनमा पुगेको समितिले बिना इजाजत र दर्ता सञ्चालनमा आएका विन चेस्टर ट्राभल एन्ड टुर्स, महाराजा ट्राभल एन्ड टेकर्स र लिंक एवरोड टुर्स एन्ड ट्राभल एजेन्सीमा शिलबन्दी गरेको वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले जानकारी दिए ।
नेपाल–भारत सिमानाको सबैभन्दा ठूलो स्थलमार्ग र सबैभन्दा बढी पर्यटक आवागमन हुने सो क्षेत्रमा पर्ने बेलहियामा अवैधानिक र इजाजत बिना ट्राभल एजेन्सी सञ्चालनमा आएको व्यापक गुनासो आएपछि अगुगमना पुगेको टोलीले दर्ता बिना सञ्चालन गरिएको भेटाएपछि शिलबन्दी गरेका हांै, उपाध्यायले भने । “मापदण्ड र अवैधानिक रूपमा व्यवसाय सञ्चालन गरेको पाएछि शिल गरेका हौं,” उपाध्यायले भने, “राज्यको आँखा छलेर कसैले पनि बिना इजाजत व्यापार व्यवसाय गर्न पाउँदैन ।
अनुगमनका क्रममा व्यवसाय दर्ता अनुमति नलिई अवैधानिक रूपमा ट्राभल एजेन्सीहरूले कारोबार गरेको पाइएको समितिले जनाएको छ । समितिले ट्राभल एजेन्सीहरूलाई पर्यटन कार्यालयमा दर्ता गरी प्रमाणपत्र पेस गरेपछि मात्र लगाइएको शिल खोलिने जनाएको छ । अनुगमनमा सम्बद्ध दर्तावाला व्यवसायीहरूले पनि सहयोग गरेका थिए ।
नाट्टा लुम्बिनी अञ्चल च्याप्टरका उपाध्यक्ष सागर अधिकारीले व्यवसाय कानुन सम्बत् हुनुपर्छ भन्ने संस्थाको मान्यताअनुसार आफूहरूले अनुगमन समितिलाई सहयोग गरेको बताए । पछिल्लो समय रुपन्देहीका सीमा क्षेत्रमा दर्ता बिना एजेन्सीहरू सञ्चालन गर्ने क्रम बढ्दो छ । समितिले बेलहियामा सञ्चालित ८ वटा ट्राभल एजेन्सीहरूमा अनुगमन गरेको थियो ।
संयुक्त अनुगमनमा पर्यटन कार्यालयका निमित्त प्रमुख भीमबहादुर क्षेत्री, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अध्यागमनका प्रतिनिधि, वाणिज्य कार्यालयका प्रमुख र नाट्टा लुम्बिनी अञ्चलका प्रतिनिधिहरूको सहभागिता थियो ।