मातृका दाहाल
बुधवार, जेठ ३०, २०७५
7424

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गर्न गठित समितिले राजेन्द्रकुमार शाक्य सञ्चालक रहेको आरके ज्वेलर्सले बैंकबाट खरिद गरेको सुनचाँदी तथा हिराको विवरणमाथि छानबिन थालेको छ ।
दरवारमार्गस्थित आरके डायमन्ड र न्युरोड र विशालबजारमा रहेका आरके ज्वेलर्समा छापा मार्दा ३० करोड रुपैयाँभन्दा बढीका सुनचाँदी, हिरालगायतका गहना तथा नगद १५ लाख भेटिएपछि छानबिन समितिले पछिल्लो १० वर्षयता बैंकबाट किनेको गहनाको विवरणमाथि छानबिन थालेको हो । सोमबार समितिले तीनवटै ज्वेलर्समा छापा मारी करोडौं रुपैयाँ बराबरका नरगहना र १५ लाख भन्दा बढी नगद बरामद गरेको थियो । समितिले बरामद गहना तथा नगद बुधबार मोरङ जिल्ला अदालतमा पेश गर्ने छ ।

  • आरके ज्वेलर्सबाट ३० करोडको गहना र १५ लाख नगद बरामद
  • शाक्यविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
  • बैंकबाट खरिद गरेको विवरण र कारोबार भिडाउँदै समिति
  • गोरेसहित तीन जनासँग कारागारमै बयान

अनुसन्धान समितिले शाक्य र नेपालमा सुन तस्करका मुख्य नाइके भनिएका मोहनकुमार(एमके) अग्रवालको कनेक्सनमाथि पनि छानबिन अघि बढाएको छ । तस्करीबाट भित्र्याएको सुन एमके अग्रवालले शाक्य लगायत विभिन्न सुनचाँदी व्यवसायीलाई दिने गरेको अनुसन्धान समितिका एक सदस्यले बताए ।

“तस्करीबाट भित्र्याइएको सुन कारोबार एमके अग्रवाल, राजेन्द्र शाक्यलगायत व्यक्तिले पार्टरशीपमा लगानी गरेको देखिन्छ,” समितिले ती सदस्यले भने, “अब ३३ केजी सुन र सनम शाक्य हत्यामामात्रै यो अनुसन्धान सीमित हुँदैन, अपराधबाट सम्पत्ति आर्जन गर्ने व्यक्तिको कालोधनमाथि पनि छानबिन अघि बढिसकेको छ ।”
आरके ज्वेलर्सका सञ्चालक शाक्यको चलअचल सम्पत्तिमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालिसकेको छ । समितिले ज्वेलर्समा छापा मारेको भोलिपल्टै मंगलबार केन्द्रीय कारागारमा रहेका तस्करीका नाइके गोरे भनिने चुडामणि उप्रेती, भुजुङ गुरुङ र डा. डेविट भनिने छिरिङ वाङ्गेल घले (गुरुङ)सँग शाक्यसँगको कनेक्सनमाथि बयान लिएको छ ।
३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि गृह मन्त्रालयमा सहसचिव इश्वरराज पौडेल संयोजक रहेको समितिले नेपालमा सुन तस्करीको जालो र त्यसमा संलग्न गिरोहमाथि अनुसनधान जारी राखेको छ । सनम शाक्य हत्या प्रकरणमै आरके ज्वेलर्सका सञ्चालक शाक्य मोरङ जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि थुनामा छन् । सनम शाक्य हत्या प्रकरणका अभियुक्त एमके अग्रवाल ४ महिना देखि फरार छन् ।
आधा हिस्सा तस्करीको सुन
सुनचाँदी व्यवसायीहरूका अनुसार नेपाली बजारमा दैनिक सरदर ३५ किलो सुनको माग छ । तर, राष्ट्रबैंकले आधामात्रै सुन उपलव्ध गराउँदा माग पूरा गर्न तस्करीको माध्यमबाट भित्रिएको सुन प्रयोग हुने गरेको जानकारहरू बताउँछन् । तरपनि ज्वेलर्सहरूमा सुनचाँदीको कारोबार उच्च रहने गरेको छ । राष्ट्र बैंकले लागू गरेको ‘सुन आयात तथा बिक्री कार्यविधि २०६८’ अनुसार वाणिज्य बैंकहरूले दैनिक २० केजी सुन आयात गर्न पाउँछन् । त्यही सुन व्यवसायीले खरिद गरी बजारमा गहना बनाएर बिक्री गर्छन् । तर बैंकबाट किनेको सुनले बजार धान्न नसक्ने दाबी व्यवसायीको छ ।
माग धान्न नसक्ने व्यवसायीको दावी र बजारमा सुनको खपत बैंकबाट किनेकोभन्दा अधिक हुनुले तस्करीको सुन खपत भएको सहजै अनुमान गर्न सकिने अनुसन्धान समितिको निष्कर्ष छ । ०६९ असोज १ गतेबाट १५ किलोबाट बढाएर २० किलोसम्म आयात गर्न पाउने व्यवस्था ल्याएको थियो । २०७१ मा राष्ट्रबैंकले सुन आयातबाट शोधानान्तर घाटा उच्च भएपछि कोटा प्रणाली लागू गरेको थियो । मागअनुसार सुन उपलव्ध नहुँदा एकातिर तस्करीबाट सुन भित्रिने र राज्यले बर्सेनि करोडौं राजस्व गुमाएको छ ।
अर्कातिर देशको पुँजी पलायनलाई समेत तस्करीले बढवा दिएको छ । विशेषतः दसैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्व तथा विवाहको सिजनमा सुन खपत वढि हुने गर्छ । यो समयमा कोटा प्रणालीमा हेरफेर गरी राष्ट्रबैंकले व्यवसायीको मागअनुसार सुन उपलब्ध गराउने हो भने तस्करी नियन्त्रणमा केही बल पुग्नसक्छ । दिपालवी र विवाह सिजनमा सुनको माग दैनिक ३० देखि ४० किलोसम्म हुने व्यवसायीहरूको दाबी छ । यसमध्ये बाग्मती अञ्चलमा मात्रै दैनिक ९ केजीको हाराहारीमा सुन खरिदबिक्री हुन्छ ।