कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
449

तराईमा गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । एक सातादेखि नेपालको तराई क्षेत्रमा तापमान वृद्धि भइरहेको छ ।
गर्मी बढ्दै जाँदा मजदुर, रिक्सा चालकजस्ता श्रम गर्नेहरु बढी प्रभावित भएका छन् । बढी श्रम गर्नेहरुलाई अत्यधिक गर्मीले छिटो छुने भएकाले घामबाट बचेर काम गर्नका लागि चिकित्सकहरुले आग्रह गरेका छन् । विगत केही दिनयता अत्यधिक गर्मी बढेका कारण औषधि उपचारले मात्र निको हुन नसक्ने भएकाले सचेतना अपनाउनु नै बुद्धिमानी हुने उनीहरुको भनाइ छ ।

दिउँसोको समयमा बजारमा सर्वसाधारणको उपस्थिति कम देखिन थालेको छ । गर्मीबाट राहत पाउन एसी, कुलर प्रयोगकर्ता बढ्न थालेको व्यवसायी प्रेम शर्माले बताए । बजारमा उखुको रस, काँक्रो, खरभुजाको व्यापार पनि बढेको छ । गर्मीमा पानीजन्य वस्तुहरु प्रयोग गर्ने र बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सुझाएका छन् ।
यसैबीच, अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजदेखि एक साताका लागि बन्द भएका छन् ।
दिन प्रतिदिन बढ्दै गएको.गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक हप्ताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो । चालीस डिग्री भन्दाबढी तापक्रम हुन थालेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । गर्मीका कारण सदरमुकाम तौलिहवा र सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ ।