जोशी प्रधानन्यायाधीशमा सिफारिस
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
184

संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश रहेका जोशीको नाम सिफारिस गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जोशीको नाम सिफारिस भएको बताए ।
गत चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि सो पद रिक्त थियो । त्यसयता जोशीले कायममुकायमका रुपमा नेतृत्व सम्हालेका थिए । न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको थियो । न्यायालयमा वरिष्ठतम् न्यायाधीश नै प्रधानन्यायाधीश हुने व्यवस्था छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।