रेशमराज रोकाया
बुधवार, जेठ ३०, २०७५
553

सडक सञ्जाल नछोएको हुम्लालगायत दुर्गममा नेपाल सरकारले ५४ प्रतिशत हवाई भाडा वृद्धि गरेमा हुम्लीवासी आन्दोलित भएका छन् । हवाईभाडा घटाउनुपर्ने मागसहित जिल्लाका सबै स्थानीय तहहरूमा मंगलबार धर्ना दिइएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २६ गते ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय गरेकोमा दुर्गमका बासिन्दाले आपत्ति जनाएका हुन् ।
हुम्ली जनताको मागप्रति सरकार तथा सरोकारवाला निकायले हालसम्म कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइएको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाग्मेल तामाङले बताए ।

“सरकारले हाल चार्टर उडानको नाममा यात्रुबाट महँगो भाडा लगेकोले आफूहरूको आन्दोलनलाई व्यवास्ता गरेमा हुम्लामा हुने सबै उडान सदाका लागि बन्द गर्नेसम्मका कार्यक्रम राखिएको तामाङको भनाई छ । सिमकोट–नेपालगञ्ज तथा नेपालगन्ज–सिमकोटको ७ हजार १ सय ९० रुपैयाँ भाडा दर कायम गर्ने निर्णय गरेको छ । जुन हुम्ली जनताका लागि भ्रमित र अन्यायपूर्ण भएको स्थानीयको भनाइ छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने र बिहीबार सिमिकोट बजार बन्द गर्ने आन्दोलनकारीले घोषणा गरिसकेका छन् ।
हुम्ला राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण एक मात्रै यातायातको साधन हवाई सेवा हो । जिल्ला बाहिर जानु र यहाँ आउनु पर्दा हवाईयात्रा बाहेक कुनै पनि माध्यम सम्भव नभएको कारण हवाई कम्पनीले मनपरी गरेको स्थानीय गोर रावतले बताए । यस्तो बेला राज्यले सहुलियत दिनुको सट्टा उल्टै हुम्ली जनताहरू हवाई जहाजको चर्कोभाडा तिरेर आवत–जावत गर्न बाध्य बनाइएकाले यसको विरोध स्वरुप हुम्ला उद्योग वाणिज्य संघ हुम्लाको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
दैनिक उपभोग्य वस्तुका साथै विकास निर्माण सामग्री ढुवानी गर्ने उनले भने मंगलबार जिल्लाका सबै स्थानीय तहमा धर्ना गरिएको र बिहीबार जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिने कार्यक्रम छ । विरोध स्वरूप जेठ ३१ गते सदरमुकाम सिमकोट बजार बन्द गरिने असार १ गते सिमकोट नागरिक उड्डयन प्राधिकरण कार्यालयको मूल गेटमा कालोपट्टि बाँधेर धर्ना दिने, असार २ मा सिमकोट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बन्द गर्ने, उद्योग वाणिज्य संघ हुम्लाले जनाएको छ । आन्दोलनमा उद्योग वाणिज्य संघ हुम्ला नागरिक समाज हुम्ला, निर्माण व्यवसाय हुम्ला होटल व्यवसायी हुम्ला, नेपाल पत्रकार महासंघ, हुम्ला र जिल्ला स्थित राजनीतिक दलहरूले संयुक्त रूपमा आन्दोलनलाई सघाउने ऐक्यबद्धतासमेत जनाइसकेका छन् ।
सामानलाई भित्र्याउनका लागि नेपालगञ्जबाट प्रतिकिलो १ सय ३० र सुर्खेतबाट १ सय २० रुपैयाँमा भित्र्याउनु पर्ने बाध्यताको कारण हुम्लामा नेपालकै महँगो मूल्यमा सामानको खरिद बिक्री हुने गरेको छ । हाल सिमिकोटलाई मध्यनजर गर्दै मानसरोवर र कैलाश यात्राका लागि भारतीय नागरिक मात्र ओसार्ने गरेको कारण स्थानीयलाई आवत–जावतका लागि समेत कठिनाइ हुँदै आएको छ । एक हवाई कम्पनीले स्थानीयलाई २ वटा मात्र टिकट दिने गरेको कारण बिरामी, अशक्त, अपांगता भएका व्यक्तिका लागि समस्या हुँदै आएको छ ।
कर्णालीका हुम्ला र डोल्पामा पुग्नका लागि अझै हवाई सेवा बाहेक कुनै विकल्प नभएको भए तापनि सरकारले मोटरबाटोका लागि कुनै पहल कदमी नगरी सुस्त गतिमा कर्णाली करिडोरको राष्ट्रिय गौरवको आयोजना भने तापनि वर्षौं लाग्ने देखिएको छ । सडक मार्ग नबन्दासम्म वर्षौंसम्म यहाँका स्थानीय हवाई मार्गको महँगो भाडा तिर्न बाध्य भएका छन् ।
काम विशेषले सहर जान पर्छ, बालबालिकालाई शिक्षा, औषधोपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने भएको कारण यहाँका बासिन्दाको जीवनस्तर कठिन भएको छ । एक पटक कामका लागि राजधानी पुग्दासम्म लाखौंको जोहो गरेर मात्र जान पर्ने बाध्यता भएको स्थानीय सिमिकोट–६ का सुवास रावतले जानकारी गराए । धनीले त जेनतेन जालान् तर गरिबको औषधोपचार र काम यही हवाई मार्गको कारण गर्न नसकिरहेको रावतको तर्क छ ।