कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
558

विभागले २५ डेरी उद्योेगका ४२ वटा ब्रान्डका दूधको नमुना परीक्षण गर्दा ४० वटा नमुनामा सोडा प्रयोग गरेको पाइएको छ । अधिकांश प्याकेटको दूध अखाद्य रोशन थापा काठमाडौं, २९ जेठ काठमाडौं उपत्यकामा तपाईं हामीले उपभोग गर्ने गरेको प्याकेटको दूध अखाद्य रहेको सरकारी परीक्षणले देखाएको छ । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको निर्देशनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा उपत्यकामा बिक्री वितरण हुने गरेको अधिकांश दूध अखाद्य रहेको देखाएको हो ।
विभागले २५ डेरी उद्योेगका ४२ वटा ब्रान्डका दूधको नमुना परीक्षण गर्दा ४० वटा नमुनामा सोडा प्रयोग गरेको पाइएको छ । दूधमा सोडा प्रयोग गर्न कानुनले वर्जित गरेको छ । उद्योगीहरूले दूधमा ठोस पदार्थ (एसएनएफ)बढाउन सोडा प्रयोग गरेका हुन् । सोडा प्रयोगका बाबजुद् ९ वटा नमुनामा एसएनएफ मापदण्डभन्दा कम पाइएको छ । दूधमा एसएनएफको मात्रा ८ प्रतिशत हुनुपर्छ । यस्तै फ्याटको मात्रा पनि मापदण्डभन्दा कम पाइएको छ । विभागका महानिर्देशक संजिवकुमार कर्णले १७ वटा नमुनामा ३ प्रतिशतभन्दा कम फ्याट पाइएको जानकारी दिए । काठमाडौं उपत्यकामा दैनिक साढे पाँच लाख लिटर प्याकेटको दूध बिक्री वितरण हुने गरेको छ ।

उपभोक्ताले दिनहुँ प्रयोग गर्ने दूधमा डेरी उद्योगहरूले लापरवाही गर्ने गरेको गुनासोपछि कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिकसहित केही डेरी उद्योगको अनुगमन गरेका थिए । अनुगमनका क्रममा अधिकांश उद्योगमा सरसफाइको अवस्था नाजुक पाइएको थियो । सरसफाइमा लापरवाही गर्दा कोलिफोर्मको जोखिम हुन्छ । दुधमा कोलिफोर्म रहे/नरहेको बारेमा नतिजा आउन अझै केही समय लाग्ने विभागले जनाएको छ ।
विभागका महानिर्देशक कर्णले दूधमा सोडा प्रयोग गरिएको बारेमा विस्तृतमा अध्ययन गर्ने र दोषी उद्योगमाथि खाद्य ऐनअनुसार कारबाही गर्ने बताए । साथै मापदण्ड पूरा नगर्ने उद्योगलाई बन्द गरिने उनको भनाइ छ । कर्णले सोडा प्रयोग गर्ने तथा मापदण्डभन्दा कम फ्याट र एसएनएफ भएका दूधको नाम भने दिएनन् ।
-रोशन थापा

सिंहदरबार भित्रको क्यान्टिनमा दूषित तेलको प्रयोग
मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित कञ्चन चमेना गृहमा अत्यधिक फोहोर र स्वास्थ्यलाई प्रतिकूल असर पार्ने दूषित तेल प्रयोग गर्ने गरेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको स्थलगत निरीक्षणका क्रममा क्यान्टिनले दूषित तेल प्रयोग गरी खानेकुरा बनाउने गरेको पाइएको हो ।
विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले क्यान्टिनको अवस्था अत्यन्त फोहोर देखिएको बताए उनले दूषित तेल प्रयोग गरी खाना बनाउने गरिएको पाइएको जानकारी दिए । “मासु राख्ने डिपफ्रिजमा रगत र फोहोर देखिएको छ,” उनले भने, “तयारी खाद्यवस्तु भान्सा कोठामा नछोपी भुइँमा एताउता छरपस्ट राखिएकाले विभागमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएका छौं ।” अनुगमनका क्रममा सलादका लागि प्रयोग गरिने गाँजर, काँक्रालगायतका अन्य सब्जि पनि फोहोर ठाउँमा भण्डारण गरेको भेटिएको छ ।
खाना बनाउने कच्चा पदार्थ र अन्य अखाद्य वस्तु एकै ठाउँमा राखिएको अनुगमनका क्रममा फेला परेको थियो । क्यान्टिनका भाँडा सफा गर्ने र उत्पादनस्थलको भुइँमा टायल फुटी पानी जमेकोे अनुगमनका क्रममा फेला परेको छ । सुक्खा रोटी बनाउन प्रयोग गरिने कपडा फोहोर पाइएकोे र व्यक्तिगत सरसफाईका सामान्य माक्स, एप्रोन, क्याप, पन्जा नलगाइ खाना बनाउने गरेको भेटिएको छ । खाना पकाउन प्रयोग गरिने ५ लिटर तेल दूषित पाइएकाले नष्ट गरिएको अनुसन्धान अधिकृृत सुवेदीले जानकारी दिए ।