कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
340

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले बजेटमार्फत कालोधन र भ्रष्टाचारलाई वैधता दिन खोजेको आरोप लगाएका छन् । नेता केसीले सरकारले आगामी आर्थिक वर्षभित्र कुनै पनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर बजेटमा उल्लेख गरेको भन्दै बजेटको नीतिमाथि प्रश्न उठाएका हुन् ।
रिपोर्टर्स क्लबले मंगलबार गरेको कार्यक्रममा नेता केसीले बजेटभित्र भ्रष्टाचारको दुर्गन्ध देखिएको भन्दै यसलाई अर्थविद्हरूले राम्रोसँग केलाएर एक्स्पोज गर्नुपर्ने बताए । “बजेटमा नयाँपन केही पनि समावेश छैन,” नेता केसीले भने, “बजेट प्राथमिकताविहीन छ, यसले विपन्न वर्गको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सक्दैन ।” उनले वर्तमान सरकारका हरेक मन्त्रीले भ्रष्टाचारविरुद्धको स्वर ठूलो पारे पनि व्यवहारका कार्यान्वयन गर्न नसकेको बताए ।
साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर कारबाही गरेर देखायो भने मात्रै वास्तवमा त्यो दिनदेखि यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर आफूहरूले विश्वास गर्ने उनले बताए ।
नेता केसीले नेपाली कांग्रेस संयमित भएर आफ्नो भूमिका निर्वाह गर्ने बताए । “हामी बजेट पेस गर्दा सुटकेस फोर्ने प्रतिपक्षी पनि होइनौं, हामी त लोकतान्त्रिक मर्यादा, परम्परा र सुसंस्कृतलाई ख्याल राख्दै आफ्नो भूमिका निर्वाह गर्छौं,” नले भने, “समृद्ध नेपाल र सुखी नेपाली सबैको एजेन्डा भएकाले वर्तमान सरकारको काम हेर्नुपर्छ ।” उनले सरकारले हालै ल्याएको बजेट परम्परागत नै भएको जिकिरसमेत गरे ।
यसैगरी सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पनि सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाए । “बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्गचित्र आउनुपथ्र्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन,” उनले भने, “बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन ।” उनले सरकारको कार्यशैलीबाट आफू सन्तुष्ट नभएको बताए ।