खाडीबाट फर्किएका युवा बाख्रापालनमा
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
667

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा विदेशबाट फर्किएका युवाले व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । विदेशमा कडा परिश्रम गर्दासमेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्किएका युवाले जीविकोपार्जनका लागि बाख्रा पाल्न थालेका हुन् ।
१० वर्ष साउदीमा काम गरेर घर फर्किएर गत वर्षदेखि बाख्रापालन सुरु गरेका दोवाका वीरेन्द्र गर्बुजाले विदेशमा गर्ने परिश्रम गाउँमै गरेमा फाइदा हुने बताए । विदेशको कमाई दिगो नहुने भन्दै उनले घरपरिवारसँगै गाउँमै बसेर बाख्रा पाल्दा सुख र सन्तुष्टि मिलेको बताए । “एक वर्षअघि ५ लाख ६७ हजारमा ६३ वटा बाख्रा किनेर थप एक लाख लगानी गरी बाख्रा पाल्न सुरु गरेको थिएँ,” उनले भने, “एक वर्षको अवधिमा करिब २० वटा बाख्रा, खसी, बोका र पाठापाठी बेचेको छु ।” उनीसँग अहिले ७० वटा बाख्रा छन् ।
स्वरोजगार बन्नुका साथै घरखर्च चलाउन र छोराछोरी पढाउन बाख्रापालनबाट भएको आम्दानीले पुगेको गर्बुजाको भनाइ छ । बाख्राको संख्या बढाउने र फर्म दर्ता गर्ने योजना रहेको गर्बुजाले बताए । उनले खरी र जमुनापारी जातको बाख्रा पालेका छन् ।
खाडी मुलकमा कामको खोजीमा एक दशकभन्दा बढी समय भौंतारिएका दोवाका उमेश पुर्जाले पनि अहिले बाख्रापालनलाई जिविकोपार्जनको माध्यम बनाएका छन् । ९० वटा बाख्रा पालेका गर्बुजा र उनकी श्रीमती स्वरोजगार बनेका छन् । खसीबोका र बाख्रा, पाठा खरिद गर्न ग्राहक गाउँमै आउने भएकाले बजारको समस्या छैन ।
स्थानीय अगुवा पदम गर्बुजाका अनुसार दोवा गाउँमा २० जनाभन्दा बढीले व्यावसायिक बाख्रापालन गरेका छन् । बैदेशिक रोजगारको विकल्पमा बाख्रापालन गतिलो माध्यम बनेको छ । वडा अध्यक्ष दिलपकुमार गर्बुजाले बाख्राका लागी आन्तरिक तथा बाह्य परजिवी विरुद्धको औषधि, खोप र ताीिमको व्यवस्था गरेर युवालाई गाउँमै आयआर्जन गर्ने वातावरण मिलाउने बताए ।
-सन्तोष गौतम