कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
574

जिल्लाको नरहरिनाथ गाउँपालिका–९ लालुमा रहेको जनप्रभात माध्यमिक विद्यालयमा अख्तियारको टोलीले छापा मारेको छ । आर्थिक वर्ष ०७३÷७४ मा २७ लाख रुपैयाँको चार कोठे भवन निर्माण गर्दा ९ लाख रुपैयाँ भ्रष्टचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले छापा मारेको हो ।
विद्यालय भवन निर्माण गर्दा तत्कालीन प्रधानाध्यापक मानबहादुर शाहीले उक्त रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो । विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारको टोलीले छापामा मारेको श्री जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलकुमार विष्टले बताए । “गत आवमा विद्यालय भवन निर्माणमा तत्कालीन प्रधानाध्याकले रकम हिनामिना गरेको आरोपमा विद्यालयमा अख्तियारको टोलीले छापा मारेको छ,” उनले भने, “छानबिनपछि के भएको यथार्थ बाहिर आउला ।”
अख्तियार दुरुपयोग अनुसनधान आयोग क्षेत्रीय कार्यालय सुर्खेतबाट प्रेमप्रसाद सुवेदी नेतृत्वमा खटिएको टोलीले विद्यालयमा छापामा मारेको हो ।