कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
413

कालिकोट-स्थानीय सरकार गठन भएको एक वर्षमा तिलागुफा नगरपालिकाले नगरभित्रका १० वटै वडामा सडक सञ्जालले छोएको छ । स्थानीय सरकारले पहिलो प्राथमिकतामा सडकलाई राखेपपछि सबै वडामा सडक सञ्जालले छोएको हो ।
नगरपालिकाले एक वर्षको अवधिमा २४ किलोमिटर सडकको निर्माण गरेर नगरभित्रका ११ वटा वडामध्ये १० वटा वडामा सडक पुराएको हो ।
नगरपालिकाले पानीखालदेखि महादेव मावि फोइकोटसम्मको सडक, ओखरभिटादेखि छाप्रो जोड्ने, नगरपालिकाको केन्द्र्र रहेको गाल्जेवाट बालिचौरसम्म, भैसिगौडादेखि चिल्खाया जोड्नेलगायतका सडकको काम सम्पन्न गरेको छ । यी सडकले नगरभित्रका १० वटा सडक पुगेको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । “नगरपालिकाले तीनवटा ‘स’ लाई आफ्नो मुख्य योजनामा राखेको थियो,” उनले भने, “सडक, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेको थियो ।”
नगरपालिकाले पहिलो प्राथमिकता राखेका विकासे योजनालाई अहिले धमाधम रूपमा काम भइरहेकाले यसले कतै कमजोरी भए पनि समग्र पक्ष राम्रो रहेको नगरपालिका प्रमुख शाहीले बताए । “पहिलो वर्ष काम गर्दा केही सिकाइ पनि भएका छन्,” उनले भने, “जनताको आवश्यकतामा काम गर्दा केही कमजोरी पनि भएका होलान् ।”
नगरपालिकाले १ वर्षमा महिलालाई लोक सेवा आयोगको तयारी कक्षा, कम्प्युटर तालिम, समाजमा सम्मानका साथ बाच्ने अवस्था सिर्जना गर्न सामाजिक विकृति विसंगतिको अन्त्य जरुरी भएको ठहर गर्दै फोइमहादेवलाई छाउपडीमुक्त गोठ घोषणा गरेको छ । यसैगरी पहिलो बालमैत्री गाउँ घोषणा, राचुलीले बालविवाह, बालश्रम, खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त, अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, विद्यालय शान्ति क्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त, स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि प्राप्त, सबै घरमा करेसाबारीको व्यवस्था गरिएको छ । यस्तै धूँवारहित चुलो निर्माण गरेर नगरपालिकालाई समृद्ध बनाउन लागि परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रप्रसाद पाण्डेले बताए । “मानव अधिकारमैत्री घोषणा, मध्यपान र धुम्रपानको ब्यवस्थापन भएको, विकास प्रक्रियामा पछि परेका व्यक्ति, समुदायको सहभागिता सुनिश्चित गरिएको, सबै प्रसूति आमा बच्चा जन्माउन स्वास्थ्य संस्था जाने गरेका, मानवअधिकार शिक्षा प्रदान गरिएको बस्ती पनि बनाइएको छ,” उनले भने, “हामी समृद्ध नगरपालिका बनाउने तयारीमा छौं ।”
-रमेश रावल