कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
1982

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न गठित सरकारी अनुसन्धान समितिले काठमाडौंका ६ स्थानका बाजेको सेकुवा कर्नरमा छापा मारेको छ । उपत्यकाभित्र १० स्थानमा बाजेको सेकुवा कर्नरका ब्रान्च भए पनि सुन तस्करको अभियोगमा फरार रहेका चेतन भण्डारीको स्वामित्वमा हेका ६ शाखामा अनुसन्धान समितिले छापा मारेको हो ।
अन्य ४ स्थानका सेकुवा कर्नरमा भने भण्डारीको स्वामित्व नभएका कारण छापा नमारिएको समितिले जनाएको छ । बुधबार अनुसन्धान समितिले अनामनगर, बत्तिसपुतली, गैरीधारासहित ६ स्थानमा छापा मारी विभिन्न खाद्य पदार्थसहितका सामान शीलवन्दी गरेको छ । छापा मारिएका ६ स्थानको सेकुवा कर्नर भण्डारीको पूर्ण स्वामित्वमा रहेको अनुसन्धान समितिले जनाएको छ । काठमाडौंका ४ र पोखरा, चितवन, रुपन्देही लगायत स्थानमा सञ्चालित बाजेको सेकुवा कर्नर भने अन्य व्यक्तिको लगानीमा सञ्चालित रहेको समितिले जनाएको छ । यसको ब्रान्च अमेरिकामा पनि छ । अमेरिकाको कर्नर भने भण्डारीकै लगानीमा रहेको छ ।
३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसनधान सुरु भएसँगै बाजेको सेकुवाका सञ्चालक भण्डारी फरार भइसकेका छन् । उनी अहिले अमेरिकामा रहेको अनुसन्धान समितिकै एक सदस्यले जानकारी दिए । बाजेको सेकुवामा भण्डारीसँगै सुन तस्करका मुख्य नाइके भनिएका गोरे भनिने चूडामणि उप्रेतीको पनि लगानी रहेको अनुसन्धान समितिले जनाएको छ ।
सुन तस्करी अभियोगमा पक्राउ परेका सरकारी कर्मचारी र प्रहरी बाहेकका व्यक्तिमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा चलाइने भएपछि अपराधबाट आर्जन गरेको सम्पत्ति खोजीमा अनुसन्धान समिति सक्रिय बनेको हो ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य, नेपाल प्रहरीका पूर्व डीआइजी गोविन्द निरौला, बहालवाला एसएसपीद्वय श्याम खत्री र दिवेश लोहनीसहितका व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ । सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकामध्ये गोरे, डा. डेविट भनिने छिरिङ वाङगेल घले (गुरुङ), राप्रपा प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ, (गुरुङ), आरके ज्वेलर्सका सञ्चालक शाक्य, बाजेको सेकुवा कर्नरका सञ्चालक भण्डारीलगायतको चलअचल सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन थालिसकेको छ । प्रहरी र सम्पत्ति शुद्धीकरणको छानबिनमा रहेका सबै अभियुक्तको चलअचल सम्पत्ति रोक्का भइसकेको छ ।
समितिले मंगलबारमात्रै राजधानीको न्युरोड, विशालबजार र दरवारमार्ग स्थित आरके ज्वेलर्समा छापा मारी करिब ३० करोडका सुनचाँदी, हिरा, जवाहरत र नगद १५ लाख रुपैयाँ जफत गरेको थियो ।