५१ हजार लिटर घरेलु मदिरा जफत
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
265

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ५० हजार लिटर घरेलु मदिरा जफत गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जेठ २३ गतेयता विशेष अपरेसन सञ्चालन गरी ४२ हजार ८ सय ५ लिटर तयारी अवस्थाको मदिरा र मदिरा उत्पादन गर्न प्रयोग गरिने करिव ९ हजार केजी कच्चापदार्थ बरामद गरेको हो ।
बरामद गरिएको सबै मदिरा काडमाडौं प्रहरीले खाल्डो खनेर पुरेको छ । बरामद मदिराको बजारमूल्य करिव ३९ लाख रुपैयाँ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । बरामद गरिएको मदिरा वौद्ध, कपन, नयाँवसपार्क, स्वयम्भू, कोटेश्वर, वालाजु, टोखा लगायत स्थानमा उत्पादन गरिएको हो । घरेलु मदिरा बनाउन कुहिएको खाद्यान्न, युरिया मल, सडेगलेको चाकु÷सख्खर लगायत स्वास्थ्यका लागि हानीकारक पदार्थ मिसावट गरिएको प्रहरीले जनाएको छ ।
घरेलु मदिराको खपत बढीजसो कर्तव्य ज्यान, ज्यान मार्ने कसूर, वलात्कार, यौनजन्य हिंसा, कुटपीट, गुन्डागर्दी लगायत अपराधमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।