उपभोग्य वस्तुको मूल्य अकासियो
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
86

कालिकोट- सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ वर्षको बजेट सार्वजनिक गरेसँगै व्यापारीले उपभोग्य वस्तुको मूल्य चर्को रूपमा बढाएका छन् । बजेट आएलगत्तै व्यापारीले दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक सामग्रीको मूल्य बढाएका हुन् ।
बजेट साउन १ गतेदेखि मात्र लागू हुने भए पनि व्यापारीले बजेट भाषण आएसँगै बजारको पाइने दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक वस्तुको मूल्य बढाएर उपभोक्तालाई मारमा परेका हुन् ।
तर व्यवसायीहरूले भने थोक मूल्य नै बढेर आएका सामानको मूल्यमा केही वृद्धि भएको बताए । कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको थोक मूल्य बढेको बताए । “बजार भाउ छोउ नसक्नु गरी बढेको छ,” उनले भने, “यसको नियन्त्रण माथिबाट नै गर्नुपर्ने हो, तर कसैले चासो देखाएको छैन ।”
कालिकोट उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कालीबहादुर बिष्टले बजारमा चामल, तेल, दाललगायतका वस्तुको मूल्य २० देखि ४ सय रुपैयाँसम्म बढेको बताए । “बजारमा मूल्य निकै अकासिएको छ, एउटै वस्तुको मूल्य २० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बढेको छ,” उनले भने, “मूल्य नियन्त्रण नगर्ने हो भने अझै बढ्न सक्ने अवस्था देखिएको छ ।”
शुभकालिका गाउँपालिका वडा नं. १ जितेगडा बजारकी ब्यापारी राधा शाहीले डिलरहरूले नै मूल्य बढाएका कारणले उपभोक्तालाई आफूले त्यही आधारमा बिक्री गर्नुपर्ने अवस्था आएको बताइन् । “उपभोग्य वस्तु बिक्री गर्ने डिलरले मूल्य बढाएर सामान हालेका छन्,” उनले भनिन्, “मूल्य बढेका कारणको खोज्दै दैनिक उपभोक्ताले प्रश्न गर्ने गर्दछन् ।”
बजार मूल्य बढेको भन्दै व्यापारीहरूले स्थानीयस्तरमै पाइने तरकारीलगायतका वस्तुको मूल्य पनि बढाएका छन् । स्थानीयस्तरमा उत्पादन हुने तरकारीको बजार मूल्य पनि अहिले ५ रुपैयाँ ४० रुपैयाँसम्म बढेको कालिकोट खाँडाचक्र नगरपालिका–१ का रामबहादुर शाहीले बताए । “सबै वस्तुको मूल्य बढेका कारणले अहिले बजारमा तरकारीको मूल्य पनि बढेको छ,” उनले भने ।

रमेश रावल