भारतीय चोरको समूह काठमाडौंमा सक्रिय
कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
6764

बाबु जोखाना हेर्ने धामी, छोरो पेसेवर चोर । सुन्दा अनौठो लाग्न सक्छ, तर काठमाडौं उपत्यकाभित्र सक्रिय पेसेवर चोर तथा त्यसलाई सञ्चालन गर्ने एउटा गिरोहको कहानी यस्तै छ ।
चोरी र लुटपाटको योजनासहित भारतबाट भित्रिएको पोदार जातको गिरोह विगत १० वर्षदेखि काठमाडौंभित्र चोरी-डकैती तथा लुटपाटमा सक्रिय छ । चोरीकै लागि भारतबाटै ‘चल्ला समूह’ नाम दिएर भित्रिएको पोदार जातको यो गिरोह उपत्यकाभित्र शृङ्खलावद्ध चोरी-डकैती तथा लुटपाटमा सक्रिय हुँदा नियन्त्रणमा प्रहरीको टाउको दुखाइ बनेको छ । गत मंसिर २९ गते चोरी अभियोगमै पक्राउ परेका भारत मोतीहारीका सुरज पोदार पुनः सोही अभियोगमा शनिबार पक्राउ परेका छन् । उनीसहित ६ जना लाखौं रुपैयाँका धनमाल सहित पक्राउ परेका थिए । ७ महिनापछि उनी ७२ हजार ४ सय ७२ रुपैयाँ र १ हजार १ सय ३५ अमेरिकी डलर, गरगहना लगायत ३१ लाख रुपैयाँ बराबरको धनमालसहित डल्लुबाट पक्राउ परेका छन् । भारत समस्तिपुर विधावतीका सुरज पोदार सहित चोरी र लुटपाटको सामान लिएर भारततर्फ भाग्न लागेका उनलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । मंसिरमा पक्राउ परेका यी अभियुक्त अदालतको आदेशमा मुक्त भएका थिए ।
काठमाडौंको गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगल, गौरीघाट, खोला-किनारका सुकुम्बासी बस्ती लगायतमा बस्ने पोदार समूहले २-३ जनाको एउटा समूह बनाएर लुटपाट तथा चोरीमा संलग्न हुने गरेको प्रहरी अधिकारी बताउँछन् । प्रहरी भन्छन्, “पोदार समूह कवाडी टिप्ने बहानामा घरको जानकारी लिने, घरमा कोही नभएको मौका छोपेर झ्याल-ढोका फोडेर प्रवेश गर्ने, कवाडी टिप्ने बोरामा रड बोकेर जाने, बाहिर एकजनाले निगरानी गर्ने र भित्र सामान उठाएर बोरामा संकलन गरी कवाडी गोदाम तथा आफू बसेको स्थानमा चोरीका धनमाल पुर्याउँछन् ।” यसरी चोर्ने व्यक्तिका अभिभावक भने सार्वजनिक स्थलमा हात हेर्न बस्ने गरेका छन् । उनीहरूकै १५ देखि २०-२२ वर्ष उमेर समूहका छोरा-भाइ-भतिजा चल्ला समूह बनाएर शृङ्खलावद्ध अपराध गर्ने गरेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सुरुमा बाबु तथा छोराको समूह मिलेर नै बोतल-कागज, कवाडी सामान संकलन गर्न घरघर जाने यो गिरोहले चोरी तथा लुटपाटको स्थान पहिचान त्यहीबेला गर्ने गरेका छन् । दोस्रो-तेस्रो दिन दोहोर्याएर त्यही क्षेत्रमा जाने र घरमा मानिस नभएको मौकामा जिन्सि सामान चोरेर भाग्ने गरेको खुलेको प्रहरी बताउँछ । यस्तो पेसेबर चोरी तथा डकैतीका काठमाडौं उपत्यकामा मात्रै २ दर्जन भन्दा बढी समूह सक्रिय छ । “बोतलकागज तथा कवाडी फलाम संकलनका नाममा बाबुछोरा तथा उनीहरूका नातेदार नै चोरीमा संलग्न गिरोह विगत १० वर्षदेखि सक्रिय छ,” चोर समाउन खटिएका एक प्रहरी भन्छन्, “झट्ट हेर्दा आवरणमा बोतलकागज संकलन गर्ने सामान्य व्यक्ति जस्तो लागेपनि यस्तो धन्दामा ७० प्रतिशत भन्दा बढी चोर्ने योजना सहित सक्रिय रहेको देखिन्छ ।”
काठमाडौंमा चोरेर भारत फरार हुने र पक्राउ परिने डरले केही समय उतै बस्ने र घटना पुरानो भएपछि पुनः नेपाल आएर अपराध धन्दा दोहोर्याउने पोदार समूहको खोजीमा महाशाखाको विशेष टोली नै अहिले सक्रिय बनेको छ । चोरेर जम्मा गरेको सामान यो गिरोहले कवाडी स्टोरमा लुकाउने र अनुकूल मौका मिलाएर सामानसहित भारत भाग्ने गरेको खुलेको छ । सामान बिक्री गरेर भारतमा जग्गाजमिन समेत किन्ने गरेको पनि बयानबाट खुलेको छ । महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार यस्तो अपराधमा संलग्न अदालतबाट छुटेपछि पुनः पुरानै धन्दामा सक्रिय हुने गरेका छन् । अपराधमा संलग्न पोदार समूहले चोरीको सामान भारतीय बजारमै लगेर बिक्री गर्ने गरेको छ । बिक्रीबापत आउने पैसाले जग्गाजमिन समेत जोडेको फेला परेको प्रहरीको भनाइ छ ।