नीरज पिठाकोटे
बुधवार, असार २७, २०७५
397

वीरगन्ज-वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का भिखारी रामको हत्या अत्यधिक मदिरा सेवनका कारण बेहोसीमा भएको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले हत्यामा संलग्नलाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो ।
हत्यामा संलग्न बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–२० बस्ने ४० वर्षीय महजिद मियाँ हजाम, हत्यामा सहयोगी भूमिकामा रहेका कस्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ बस्ने वर्ष २९ का विजय नेपाली र सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१० बस्ने भरत थापालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।

प्रहरीले गएको असार ११ गते वीरगन्जको घण्टाघरदेखि पूर्व टाँगा स्टैण्डभन्दा उत्तरपूर्वको गल्लीमा भिखारी रामको हत्या भएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार अभियुक्त तीनमध्ये महजिदले दिउँसो घर ढलानको काम गरेर मदिरा सेवन गरि आएको र साँझ थापा र नेपालीसँग बसेर पुनः मदिरा सेवन गरि बेहोस अवस्थामा रिक्सामा गईरहेको समयमा भिखारी रामसँग जम्काभेट भएर विवाद भएपछि उनलाई लडाएर इँट्टा र ढुंगाले प्रहार गरि हत्या गरेको अनुसन्धानमा देखिएको छ ।
भिखारीको हत्यापछि भरत थापा र विजय नेपालीले मृतकको शरिर खानतलासी गरि उनको साथमा रहेको मोबाइल समेत लुटेर फरार भएका थिए । थापा र नेपालीलाई असार १८ गते बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मै सार्वजनिक स्थानमा होहल्ला गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरि सार्वजनिक अपराधको मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको थियो । उनीहरुकै बयानका आधारमा हजामलाई असार २५ गते वीरगन्ज महानगरपालिका वडा नम्बर २ छप्कैयाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
हत्यारा पत्ता लगाउनलाई प्रहरीलाई प्रविधिले पनि साथ दिएको छ । हत्या भएको घटना स्थल नजिकै एक घरमा राखिएको सीसीटिभी क्यामेराले उक्त दिन भएको घटना अनुसन्धानलाई सहयोग पुगेको हो । घटना अनुसन्धानको बारेमा जानकारी दिदँै प्रहरी उपरीक्षक ढकालले भने, “घटनाको तथ्य पत्ता लगाउन निकै चुनौती थियो, उनीहरु (पक्राउ परेकाहरु) स्थानीय नभएकोले पहिचान गर्न निकै कठिन थियो । प्रविधिको प्रयोगले पनि साथ पायौं कतिजना प्रहरीलाई रिक्सा चालक बनाएर पनि घटना अनुसन्धानमा खटायौं ।” पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको उनले बताए ।