कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
627

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहको बसबारमा विद्युत् गढबढी हुँदा मंगलबार अपरान्ह आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।
आगलागीबाट बसबार पूर्ण रुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेकाले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

केन्द्र प्रमुख भट्टका अनुसार आगो निभाउन दमकलको सहयोगमा पानी प्रयोग गरी निभाउनु परेको बाध्यताले अन्य विद्युतीय उपकरणहरुमा समेत थप क्षति पुगेको हुनसक्ने देखिएको छ ।
आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयबासीलगायत परिचालन भएका थिए । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन करिब पाँच घण्टा लागेको थियो । आगलागी पश्चात २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ ।
विसं २०२३ सालदेखि विद्युत सुरु गरेको यस केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादन निरन्तर दिदै आएको छ ।