कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
198

कालिकोट-कालिकोटको खाँडाचक्र नगरपालिकाले ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ । तेस्रो नगरसभामा आगामी आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम पेस गर्दै बजेट सार्वजनिक गरिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ को नेपाल सरकारको १५ करोड ५३ लाख ३० हजार, वित्तीय समानिकरण अनुदानअन्तर्गत १२ करोड ३७ लाख र राजश्व बाँडफाट ६ करोड १० लाख रकम नगरपालिकाले प्राप्त गर्ने नगरसभाले जनाएको छ ।
नगरपालिकाले आन्तरिक राजस्वतर्फ ५० लाख, सामाजिक सुरक्षातर्फ ४ करोड ८० लाख, साना सिँचाई परियोजनातर्फ ३६ करोड ८१ लाख २ सय ९५ र युनिसेफको सशर्त कार्यक्रमतर्फ ५६ लाख ४९ हजार २ सय ७०, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १३ लाख ७८ हजार र नगरपालिकाको २०७४-७५ को बजेटबाट १ करोड ३७ लाख ८ हजार आम्दानी हुने अनुमान गरिएको नगरपालिका उपप्रमुख विजया बिष्टले बताइन् । “आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट खर्च नगरसभामा पेश गरेका छौं,” उनले भनिन्, “यो नगरसभामा आय हुने अनुमान गरिएको बजेट नै पेश गरेका छौं ।”
नगरपालिकालको कृषि क्षेत्रमा १ करोड, पशुमा ४० लाख, स्वास्थ्यमा १ करोड ७० लाख, वनमा २० लाख, पूर्वाधार निर्माणमा ८ करोड, शिक्षामा १ करोड ५० लाख, नगरका गौरवका आयोजनामा २ करोड ५० लाख, नगरका अन्य सेवाका क्षेत्रमा ४ करोड, सशर्त तथा गैससहरुका कार्यक्रममा ३० करोड, चालू खर्च ७ करोड र आन्तरिक राजश्व आयमा १ करोड अनुमानित बजेट छुट्याइएको नगरपालिका प्रमुख जशीप्रसाद पाण्डेले बताए । “हामीले विभिन्न सेवा क्षेत्र निर्धारण गरेर बजेट विनियोजन गरेका छौं,” उनले भने, “नगरभित्रका आवश्यक क्षेत्रमा मात्र बजेट विनियोजन गरिएको छ ।”

आन्तरिक राजस्व १० लाख
नगरपालिकाले चालू आर्थिक वर्ष ०७४-७५ मा ३५ लाख राजश्व उठाउने लक्ष्य राखेको भए पनि १० लाख मात्र उठाउन सफल भएको छ । लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

जनप्रतिनिधिको तलव पनि छुट्याइयो
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा जनप्रतिनिधिको तलवमा पनि बजेट विनियोजन गरेको छ । नगरपालिकाले जनप्रतिनिधिको तलवका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको हो ।
११ वडा रहेको खाँडाचक्र नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य र कार्यपालिकाका सदस्यको तलबका लागि बजेट विनियोजन गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंज्ञेनीले बताए । “प्रदेश सरकारले तोकेको जनप्रतिनिधिको तलवका आधारमा बजेट विनियोजन गरेका छौं,” उनले भने, “जनप्रतिधिधिले आगामी साउन १ गतेबाट तलव पाउने छन् ।” नगरपालिकाका प्रमुखले मासिक ३५ हजार र उपप्रमुखले ३० हजार तथा वडाध्यक्षलाई मासिक २० हजार रुपैयाँ तलब दिइने भएको छ ।

रमेश रावल