निजी आवास पुनर्निर्माण सुस्त
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
160

म्याग्दी-भूकम्प गएको तीन वर्षपछि म्याग्दीमा सुरु भएको भूकम्पपीडितको निजी आवास पुनर्निर्माणको काम सुस्त देखिएको छ । नक्कली भूकम्पपीडित बढी भएकाले तोकिएको समय सीमाभित्र दोस्रो किस्ताको अनुदान पाउनेको संख्या न्यून छ ।
भूकम्प प्रभावित १७ जिल्लाको सूचीमा पर्ने म्याग्दीमा ७८० घरधुरी भूकम्पपीडितले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेर पहिलो किस्तावापत ५० हजार रुपैयाँका दरले तीन करोड ८६ लाख रुपैयाँ अनुदान लिएका थिए । पहिलो किस्ता अनुदान पाएका अधिकांशले घर पुनर्निर्माणको काम सुरु नै नगरेकाले दोस्रो किस्ता अनुदान लिनेको संख्या न्यून भएको हो । दोस्रो किस्तावापतको एक लाख ५० हजार रुपैयाँ वितरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७५ असार मसान्तसम्मको समय सीमा तोकेको छ । तोकेको समयसीमा सकिनै लाग्दा १४३ जनाले अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीका प्रमुख शिवराम गेलालले बताए । केही व्यक्तिको दोस्रो किस्ता भुक्तानिका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागुलङमा सिफारिस गरिएको छ ।
वर्षा, खेतबारीमा कामको चाप, प्रक्रिया र मापदण्ड पूरा गर्न झञ्जट मानेकाले निजी आवास पुनर्निर्माणमा कठिनाइ उत्पन्न भएको गेलालले बताए । उनका अनुसार तोकिएको समय सीमाभित्र डीपीसी तहसम्मको काम गरेर प्राविधिकमार्फत दोस्रो किस्ता भुक्तानिको प्रक्रिया अघि बढाउन सबै पीडितलाई विभिन्न माध्यमबाट सूचना पु¥याइएको छ । २०७३ पुसमा प्राधिकरणका प्राविधिकले स्थलगत सर्वेक्षण गर्ने क्रममा ८६८ निजी घरमा भूकम्पले क्षति गरेको पहिचान भएको थियो । राजनीतिक दबाब, प्रशासनिक लापरबाही, सरकारी निकाय र प्राविधिकसमेतको मिलेमतोमा खडा भएका नक्कली भूकम्पपीडित बढी हुनु पुनर्निर्माणले गति लिन नसक्नुको प्रमुख कारण बनेको छ ।
अर्कोतर्फ समयमै प्राविधिक सेवा नपाएकाले घर बनाए पनि अनुदान पाउन नसकेको अन्नपूर्ण गाउँपालिका–६ घारका भूकम्पपीडित हिमबहादुर खड्काले बताए । भूकम्पले घर भत्काएपछि आफन्तको कोठामा बस्दै आएका वृद्ध अवस्थाका खड्काले एक महिना पहिले घर बनाएर सके पनि प्राविधिक नआएको गुनासो गरे । पुनर्निर्माण प्राधिकरणले म्याग्दीको बेनी नगरपालिकामा दुई, धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक, एकजना प्राविधिक खटाए पनि उनीहरू स्थानीय तहको काममा व्यस्त भएकाले सेवा पाउन नसकेको पीडितको गुनासो छ ।
घर बनाउन सुरु गरेका गरिब विपन्न वास्तविक भूकम्पपीडितहरू भने ऋण, निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र दक्ष कामदार अभाव भएको मंगला गाउँपालिका–३ सातबिसेका दधिलाल विश्वकर्माले बताए । घर बनाउन सुरु गरे पनि आयस्रोत नभएकाले अर्काको आस गर्दा निम्तीपास भएको विकले बताए । विकले बल्ल घरको जग बसालेका छन् । एउटा सग्लै घरलाई भत्किएको कागज बनाएर र मापदण्डविपरीत दुई ठाउँमा घर भएकाले समेत पहिलो किस्ता अनुदान बुझेकाहरू पुनर्निर्माणले गति लिन नसक्नुको प्रमुख कारक बनेका छन् । पहिलो किस्ता रकम बुझेकाहरूले घर निर्माणमा बेवास्ता र ढिलाइ गर्दा पुनर्निर्माण प्रभावित बनेको रघुगंगा गाउँपालिकामा खटिएका इन्जिनियर वसन्त रेग्मीले बताए । “वडा भेला गरेर भूकम्पपीडितलाई छलफलमा बोलाउँदा समेत कोही आएनन् । पहिलो किस्ता पनि झिकेका छैनौ । घर बनाउन पैसाले पुग्दैन । फिर्ता गर्ने मनस्थितिमा छन् धेरै भूकम्पपीडित,” रेग्मीले भने ।

सन्तोष गौतम