मिलले बदल्यो दैनिकी
प्रकाश पाक्साँवा
बुधवार, असार २७, २०७५
239

तेह्रथुम- केही वर्ष अघिसम्म बिहानीको भालेको डाँकसँगै बेलुकी आधा रातसम्म ढिकी जाँतोमा अल्झिनु पर्ने कुनै नौलो कुरा थिएन जिल्लाको ग्रामीण क्षेत्रका महिलालाई । घरमा भएका परिवारको खानपिनका साथै घरपालुवा पशुपंक्षीहरूलाई खाने खाद्य सामग्री तयारी पार्नु यहाँका महिलाको दैनिकी नै थियो ।
घरको कामसँगै अन्न कुटानी पिसानीका लागि गाउँमा मिल नहुँदा हैरान खेप्नु यहाँका स्थानीयको बाध्यता नै थियो । समयको विकाससँगै गाउँमा समूह गठनपछि बस्तीबस्तीमा कुटानीपिसानी मिल सञ्चालनमा आएसँगै यहाँका महिलाको दैनिकी नै बदलिएको आठराई गाउँपालिका–२ का स्थानीय कल्पना घिमिरेले बताइन् । घरयासी कामसँगै खाद्य सामग्री तयार गर्नैमा दिन बिताउँदै आएका यहाँका महिला बस्तीबस्तीमा मिल सञ्चालनमा आएसँगै विभिन्न कार्यक्रममा सहभागी हुन पनि सहज भएको छ ।
घाँस–पानी र चुलो चौकोमै अल्झेंदै आएका महिला राहत मिलेको लालीगुराँस नगरपालिकाका सुनिता लिम्बुले बताइन् । पहिलो गाउँमा मिल थिएन ढिकी जाँतोमै दिन बिताउनु पर्ने थियो । गाउँमा ढिकी जाँतो गर्न पालो पखिर्नु पर्ने अवस्था थियो । अहिले मिल सञ्चालन भएपछि महिलालाई हाइसुख भएको छ उनले भनिन् । बिहान मिलमा अन्न कुटानी पिसानीका लागि पुग्छन् दिनमा आनन्दले घरको कामसँगै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् । स्थानीयले ल्याएको अन्न बिहानको समयमा पिसानी गरेर खाना खाएपछि आफ्नो कार्यालय पुग्छन् कुलबहादुर श्रेष्ठ ।
उनी छथर–३ का वडा कार्यालय कर्मचारी हुन् । उनी भन्छन्, “४ वर्ष अघिदेखि मिल सञ्चालनमा ल्याएको हुँ गाउँमा एउटामात्रै मिल हुँदा अन्न पिसानी गर्न हम्मेहम्मे हुन्थ्यो ।” अहिले गाउँगाउँमा मिल सञ्चालनमा आएपछि सहजता भएको श्रेष्ठको भनाइ छ । बस्तीको आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयको १ लाख ५० हजार सहयोगमा यस वर्षमात्र २ वटा मिल जोडिएको वडाध्यक्ष तुलसीजंग थापाले बताए । छथर–२ मा यस वर्षमात्रै १० वटा मिल प्रधानमन्त्री कृषी आधुनिकीकरण कार्यक्रमले अनुदानमा वितरण गरेको छ । जिल्लाको ग्रामीण क्षेत्रका सबैजसो बस्तीमा मिल सञ्चालन हुँदै आएका छन् ।