कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
468

सिन्धुली-सिन्धुलीको कमला नदीमा पुल नबन्दा स्थानीयले निकै सास्ती भोग्नु परेको छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ८ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।
पुल नबन्दा कमलाखोंच क्षेत्रका स्थानीयको दैनिकी नै सकसपूर्ण हुने गरेको छ । कमला खोलामा पुल निर्माण हुन नसक्दा यहाँका स्थानीय बर्सेनि ज्यान गुमाउन बाध्य छन् । यो वर्षमात्रै कमला नदीले बगाउँदा ३ जनाको ज्यान गइसकेको छ ।
यस वर्षमात्रै होइन त्यसअघि पनि पुल नभएकै कारण अकालमा ज्यान गुमाउनेको संख्या थुप्रै छ । बर्सेनि यस्ता समस्या दोहोरी रहे पनि सरोकारवाला निकाय भने मौन रहेको स्थानीय सरिता पौडेलले आरोप लगाइन् । उनले भनिन्, “सदरमुकामको त कुरै छाडौं, एउटा वडाबाट अर्काे वडामा जानसमेत ज्यानै जोखिममा पारेर हिँड्नु पर्छ । कहिले पो ढुक्क भएर हिँड्ने दिन आउनु ।”
कमला पुल नबन्दा दुधौली नगरपालिकाका १४ वटै वडाका स्थानीय समस्यामा परेका छन् भने कमलामाई नगरपालिकाको पनि वडा नम्बर ९, १०, १३ र १४ नम्बर वडाका स्थानीय प्रभावित हुने गरेका छन् । कमलामाई नगरपालिका ९ का स्थानीय गणेश मगरले वर्षात्को बेला कमला खोलामा बाढी आउँदा विशेषगरी बिमारी र सुत्केरी महिलालाई निकै नै समस्या पर्ने गरेको बताए । उनले भने, “यो वर्षमात्रै एक सातामा ३ जनालाई बगाइसक्यो । कहिलेसम्म हो यसरी अकालमै ज्यान गुमाउनुपर्ने ?” कमलाखोला समस्याबारे सरोकारवाला निकायलाई पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको मगरले बताए ।
दैनिक विद्यालय जानुपर्ने बालबालिकाहरू झनै समस्यामा छन् । वर्षात्को समयमा यस क्षेत्रका बालबालिकाहरू विद्यालय जानबाट समेत वञ्चित छन् । पुल अभावमा सयौं बालबालिका पढाइ नै छाडेर घरमै बस्न बाध्य छन् ।
पप्पु कन्ट्रक्सनसँग कमला पुल ३ वर्षमा नै निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ८ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन । पप्पु कन्ट्रक्सनको चरम लापरबाहीका कारण ८ वर्षको अवधिमा २५ जनाले अकालमै ज्यान गुमाएका छन् ।
दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले भने कमला पुलको समस्या समाधानका लागि पहल गरिरहेको बताए । बारम्बार ताकेता गर्दा समेत नभएपछि गृहमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराइसकिएको उनले बताए । साथै उनले आफूहरूको नियन्त्रणभन्दा बाहिरका ठेकेदारलाई केन्द्र सरकारले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

ठेकेदारलाई कारबाही भएन
लामो समयसम्म कामै नगरी बस्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको एक महिना हुँदासम्म जिल्लामा न काम सुरु भएको छ न त कारबाही नै भएको छ ।
निर्माण सम्झौता भएको ८ वर्ष बित्दा पनि सिन्धुलीको कमला नदीमा पुल बन्न सकेको छैन । कमला नदीमा हालसम्म एउटा पनि पुल नहुँदा बर्सेनि कमला नदीले बगाउँदा दर्जनौंको ज्यान जाने गरेको छ । काम नगर्ने ठेकेदारलाई कारबाही नभएको र काम पनि सुरु नभएको भन्दै जिल्लावासीले गृहमन्त्रीकै आलोचना गर्न थालेका छन् ।
सिन्धुलीको कमलाखोंच हँुदै उदयपुर तथा पूर्वीपहाडी जिल्ला जोड्ने कमला पुलको निर्माण नै नगरी ठेकेदार सम्पर्कविहीन बनेपछि निर्माणकार्य अलपत्र अवस्थामा छ । उक्त पुल निर्माणका लागि पप्पु कन्ट्रक्सनसँग आर्थिक वर्ष २०७३ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । विश्व बैंकको ३२ करोड अनुदान लागतमा दुधौलीको हत्पते र कमलामाई नगरपालिकाको रानीबासस्थित सिमाना जोड्ने गरी पक्की पुल निर्माण थालिएको थियो ।

कृञ्जला पुलामी