कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
734

पाँचथर-पाँचथरको सदरमुककाम फिदिमबाट करिब १२ कोस टाढा पर्ने साविक रवी गाविस हाल मिक्लाजुङ–४ मा झट्ट हेर्दा बेहुलीजस्तै ढुंगा छ । जसलाई स्थानीय बेहुलीढुंगा भन्ने गर्छन् ।
स्थानीयस्तरमा यसको जति चर्चा हुन्छ बाहिर त्यति चर्चा हुन सकेको छैन । प्रचार प्रसार अभाव र यसको प्रवद्र्धन गर्न नसक्दा पर्यटकीयस्थलको प्रचुर सम्भावना रहेको बेहुलीढुंगा गुमनाम भएको छ । सदरमुकाम फिदिमबाट नजिक र हिउँदको समयमा यातायातको राम्रो सुविधा रहेको बेहुलीढुंगा पर्यटकका लागि मख्य आकर्षण ठाउँ हो । हिउँदको समयमा सदरमुकामबाट ३ घण्टाको समयमा ट्याक्सीबाट बेहुलीढुंगा पुग्न सकिन्छ भने मेटरसाइकलबाट पनि यात्रा गर्न सकिन्छ । बर्खा याममा कच्ची सडक भएकाले यात्रा गर्न कठिन हुने गरेको छ । बेहुलीढुंगा नजिकै रहेको जरिबुटे डाँडाबाट सूर्यदयको मनोरम दृश्य पनि लिन सकिन्छ । प्रचार प्रसारमा कुनै पनि पक्षको ध्यान नजाँदा पर्यटकीयस्थल बेहुलीढुंगा र जरिबुटे डाँडा गुमनाम छन् ।

बेहुलीढुंगा नाम जति रहस्यमय छ । यसको किंवदन्ती पनि उति नै रोचक छ । स्थानीयका अनुसार पहिले पाँचथर जिल्लामा जन्ती जानेहरूले बेहुलीको घरबाट बेहुलीलाई डोलीमा बोकाई बेहुलाको घरतर्फ गइरहेको थिए । जन्तीहरू रवी बजारको उत्तर दिशातर्पmको डाँडामा आइपुग्दा थकाइ र भोक लाग्यो रे । उनीहरूले त्यही डाँडामा डोली बिसाएर खानपान गरे । केही समय आराम गरी जब डोली उठाए बेहुली डोलीबाट हराइसकेकी थिइन् । यसरी एकाएक बेहुली हराएपछि सबै अचम्म परेको र जति खोजे पनि बेहुली नभेटिएको पछि हेर्दा बेहुलीजस्तै ढुंगा देखियो । जसलाई आजसम्म हराएकी बेहुलीको स्वरुप मान्ने गरिन्छ ।
बेहुलीढुंगा साँच्चिकै बेहुलीको स्वरुपमा छ । बेहुलीढुंगाबाट केही दूरीको पैदल मार्गबाट जरिबुटे डाँडा पुग्न सकिन्छ । जसबाट हिउँदको समयमा सूर्यदयको मनोरमा दृश्य अवलोकन गर्न सकिने स्थानीय बताउँछन् ।
बेहुलीढुंगा एक धार्मिक आस्थाको केन्द पनि हो । यहाँ प्रत्येक वर्ष किराँत धमार्वलम्बीहरूले पूजा गर्ने गर्दछन् । स्थानीय शिव मुखियाका अनुसार विभिन्न समयमा विभिन्न संस्थाले अध्ययन र अवलोकन गरे पनि बेहुलीढुंगाको प्रचार हुन नसकेको गुनासो गरे ।

दिपक बोहोरा