कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
404

अछाम-मंंगलसेन नगरपालिकाले नगरको विकासका लागि युवा कार्यदल गठन गरी उनीहरूलाई रोजगारी र विकासमा परिचालन गर्ने भएको छ । नगरको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ सुधार योजना ल्याएसँगै युवा केन्द्रित कार्यक्रम पनि अगाडि सारेको हो ।
नगर क्षेत्रभित्रका सात सय युवालाई रोजगारी दिने गरी नगरले युवा कार्यदल बनाउने गरी योजना बनाएको नगरप्रमुख पदमबहादुर बोहराले बताए । योसँगै जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सुधार र प्रभावकारिता ल्याउन विभिन्न प्रशासनिक सुधारका कार्यको समेत थालनी भएको उनले बताए ।

विकास निर्माणका योजना सञ्चालनमा घुस प्रणाली पूर्णरूपमा अन्त्य गरी पारदर्शिता, जवाफदेहिता र दिगोपना ल्याउन विकास निर्माणको उपभोक्ता र ठेक्का प्रणाली अन्त्य गर्दै नगरपालिकामा ७ सयजना दक्ष युवाको विकास निर्माण कार्यदल बनाई परिचालन गरिने जनाइएको छ । जसका लागि नीतिगत रूपमै ब्यवस्था गरिएको नगरप्रमुख बोहराको भनाइ छ ।
राज्यकोषबाट तलब भत्ता खाने कर्मचारीलाई सेवा प्रवाहमा पूर्ण जवाफदेही बनाउँदै सेवामा प्रभावकारिता ल्याउने नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । शिक्षा क्षेत्रको बेतिथिलाई अन्त्य गर्न प्रत्येक विद्यालयमा इलेक्ट्रोनिक हाजिरी, विद्यार्थीको शिक्षण सिकाइ उपलब्धिका आधारमा शिक्षकहरूलाई पुरस्कार, कारबाही र अवकाश, विद्यार्थी संख्याको आधारमा शिक्षकको दरबन्दी थप र विद्यालय मर्जसमेत गर्ने गरी कानुन तर्जुमा गरिएको छ ।
त्यस्तै प्रत्येक वडामा गुणस्तरीय योजना निर्माणका लागि सबइन्जिनियर तथा कृषि र पशु सेवाका प्राविधक कर्मचारी भर्ना गरी कृषि उत्पादनमा पाँच वर्षमा नगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको प्रमुख बोहोराले बताए ।
नगरले काम कारबाहीमा पारदर्शिता र जवाफदेहिता ल्याउन मंगलसेन बजारमा रहेको खुलामञ्च दरबार क्षेत्रनजिकै सार्वजनिक उजुरी पेटिकासमेत स्थापना गरिएको छ । जसबाट जनताले नगरपालिकामा आई प्रत्यक्ष उजुरी दिन नसक्ने अवस्थामा उक्त उजुरी पेटिकामा आफ्ना गुनासा र उजुरी खसाल्न सकिने नगरपालिकाले जनाएको छ ।

होम साउद