कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
271

वीरगन्ज-वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा सञ्चालित लघु व्यवसाय विकास कोषको आर्थिक सहयोगमा वुमेन्स स्किल सेन्टरले आयोजना गरेको बाँसको सामग्री बनाउने तालिमको उद्घाटन सम्पन्न भयो । पोखरिया उच्च माविको सभाकक्षमा पोखरियाको नगर उपप्रमुख सलमा खातनुले दीप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गरे । बाँसको सामग्री बनाउने तालिम एक महिनाको हुनेछ ।
यस तालिममा पोखरियाका विपन्न दलित समुदायका डुम जातिका १५ जना महिला तथा ५ जना पुरुषको सहभागितामा कार्यक्रम हुनेछ । यस कार्यक्रममा डा. सुष्मा तिवारीले सहजीकरण गरे । पोखरिया नपाका नगर उपप्रमुख सलमा खातुनले पोखरिया नपाका विपन्न दलित समुदायको उत्थानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको छ । यस कार्यक्रममा स्थानीय स्तरमा बिक्री हुने बाँसको सामग्रीको तालिम साथ व्यावसायिक रूपमा लानका लागि घण्टाघर, शंकराचार्यद्वार, ताज महलजस्ता गिफ्टका सामानहरू पनि तालिम हुनेछ ।
यस तालिमबाट दक्ष जनशक्तिको आय आर्जन बढ्ने छ भन्ने विश्वा जनाए । साथै आउने दिनमा एड्भान्स कोर्षको तालिम गराउने बाचा गरेका थिए । लघु व्यवसाय विकास कोषका सचिव प्रेमचन्द्र प्रसादले कोष सञ्चालनसम्बन्धी जानकारी साथै बाँसका सामग्री तालिमबारे जानकारी दिए । बुमेन्स स्किल सेन्टरका डाइरेक्टर चञ्चला दासले महिला उत्थानका लागि सेन्टरले गर्ने कार्यक्रम र बाँसको सामग्रीको बिक्री वितरणको व्यवस्थापन बारे जानकारी दिएका थिए ।