कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
1133

टाइम कार्ड लागू गर्ने तयारी

काठमाडौं-सरकारले काठमाडौं उपत्यकामा टिपर र मालवाहक ट्रकलाई दिनको ८ घण्टा सञ्चालनमा रोक लगाएको छ । सवारी दुर्घटना नियन्त्रण र अनियन्त्रित जाम व्यवस्थापन गर्न सरकारले बिहीबार (आज) देखि लागू हुने गरी १२ चक्का भन्दा माथिका मालवाहक ट्रक र टिपर बिहान ८ बजेदेखि १२ बजेसम्म र अपरान्ह ३ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न नपाइने व्यवस्था ल्याएको हो ।
यसबाहेक केही महिनाभित्रै यात्रुबाहक बाहेकका मालवाहक सवारी तथा टिपर सञ्चालनमा टाइमकार्ड समेत लागू गर्ने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । यसका लागि ठूला सवारी चलाउने चालकको उमेर समूह निर्धारण गर्नेबारे पनि सरकारी अधिकारीबीच छलफल भइरहेको छ । अहिले ट्रक तथा टिपर चालक अधिकांश ३० वर्ष मुनी उमेर समूहका छन् ।
बुधबार गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाका अधिकारी सम्मिलित संयुक्त बैठकले ठूला ट्रक तथा टिपर सञ्चालन गर्न नयाँ मापदण्ड ल्याएको हो । “सवारी दुर्घटनामा टिपर आतंक बढेसँगै उपत्यका भित्रका ३ जिल्लामा यसको सञ्चालनमा छुट्टै व्यवस्था ल्याइएको हो,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले भने, “अब बिहान ८ बजेदेखि १२ बजेसम्म र मध्यान्ह ३ बजेदेखि बेलुका ८ बजेसम्मको ८ घण्टा यस्ता सवारीसाधन चलाउन पाइने छैन, कसैले अटेर गरेमा सवारी जफत गर्ने सम्मको कारबाही हुनसक्छ ।” पछिल्लो ३ महिनाको अवधिमा उपत्यकामा मात्रै ६ जनाले टिपरको ठक्करबाट ज्यान गमाइसकेका छन् । मालवाहक सवारी तथा टिपर अनियन्त्रित र तिव्र गतिमा चलाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । बुधबार तय गरिएको नियमसँगै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले बताए ।