कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
278

महोत्तरी- सार्वजनिक धारामा पानि थाप्न गएका बेला पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत महोत्तरीले कैद सजाय सुनाएको छ । गत वैशाख २५ गते बर्दिवास नगरपालिका ४ स्थित भप्सी टोलको सार्वजनिक धारामा पानी छोएको भन्दै स्थानीय ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी छोरी १६ वर्षीया मनिषामाथि कुटपिट भएको थियो ।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
अदालतले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद र १० हजार जरिवाना सुनाएको छ । अर्की अभियुक्त नाबालक भएकाले ३ महिना कैद सजाय तोकिएको श्रेस्तेदार रामानन्द अधिकारीले बताए । तर, १६ वर्ष नपुगेकाले एक वर्षभित्र यस्तै कसुर गरेमा यो समेत गाभेर कार्यान्वयन गर्ने गरी बालबालिकासम्बन्धी ऐनको दफा ५ (२) अनुसार सजाय स्थगनको फैसला भएको श्रेस्तेदार अधिकारीले बताए । साथै पीडितलाई २५÷ २५ हजार क्षतिपूर्ति भराउन समेत अदालतले आदेश दिएको छ ।