पहिरोमा पुरिएर भक्तपुरमा तीनको मृत्यु
कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५
333

अविरल वर्षापछि पहिरोमा पुरिएर भक्तपुरका एकै परिवारका ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवाका एकै परिवारका ७० वर्षीय हिरा लामा, ६५ वर्षीय पानमाया लामा र २ वर्षीया वालिका सम्पदा लामा छन् ।
बुधबार रातिबाट परेको अविरल वर्षापछि १ तले घरको पछाडि पहिरो जाँदा तीनैजना पुरिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो । बुधबार रातीदेखिको वर्षाका कारण भक्तपुरको हनुमन्ते र गोदावरी खोला तथा स्थानीय खोल्सामा बाढी आउँदा दर्जनौं घर डुबानमा परेका थिए ।
डा. इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए । भक्तपुरको राम मन्दिर र यहाँ सँगैको शान्ति निकेतन मावि डुबानमा पर्दा पढाइ बन्द भएको छ ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।
रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।
पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।
त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरु सहितको टोलीले आज बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गरेका छन् ।
टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँमा पुगेर मनोहरा नदीले कटान गरी पुर्याएको क्षतिको अनुगमन गरे । धार परिवर्तन गरी बस्ती नजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् ।
यसैबीच स्वाथ्य मन्त्रालयले प्राकृतिक प्रकोपका कारण उत्पन्न परिस्थिति व्यवस्थापन र खोज-उद्धार-राहत तथा उपचारलाई चुस्त राख्न स्वास्थ्यकर्मीलाई बिदामा नबस्न परिपत्र गरेको छ । बिहीबार मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थामा परिपत्र गरी मनसुन अवधिभर विदामा नबस्न र बिदामा बसे ततकल कार्यक्षेत्र फिर्ता हुन निर्देशन दिएको हो । त्यस्तै बन्द-हड्ताल तथा विरोधमा नउत्रन पनि मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई अपील गरेको छ ।