कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५
1528

नेपाल विश्वको १ सय १ औं सैन्य क्षमता भएको देशमा परेको छ । गत वर्ष ९७ औं ठूलो सैन्य शक्ति भएको देशमा परेकोमा यस पटक नेपालको स्थान ४ तह तल झरेर १ सय १ औं स्थानमा पुगेको छ ।
हरेक वर्ष विश्वको सैन्य क्षमता मापन गर्दै आएको ‘ग्लोवल फायर पावर २०१८’ को सर्वेक्षण अनुसार १३६ देशमा नेपालको स्थान १ सय १ नम्बरमा परेको हो ।

सन् २०१७ मा १ सय ३३ देशमा गरिएको सर्वेक्षणमा नेपाल विश्वको ९७ औं ठूलो सैन्य शक्तिमा सूचीकृत भएको थियो । ग्लोवल फायर पावरले हरेक वर्ष मुलुकको रक्षा बजेट, सैन्य शक्तिका रुपमा रहेका स्थल तथा हवाई साधन, हातहतियार तथा गोलीगठ्ठा, फौजको संख्या, त्यस देशको औद्योगिक सामथ्र्य लगायत ५५ वटा मापनका आधारमा सैन्य क्षमताको आकार निर्धाण गर्दै आएको छ ।
करिव ९७ हजार जनशक्ति रहेको नेपाली सेनासँग २ दर्जन हवाई साधन सञ्चालनमा छन् । नेपाल सरकारले पछिल्लो ३ वर्षयता रक्षा बजेट ५० अर्बको हाराहारीमा बिनियोजन गर्दै आएको छ । ग्लोवल फायर पावरका अनुसार गतवर्ष अमेरिका, रुस र चीन, भारत, फ्रान्स र बेलायत विश्वका प्रमुख ६ ठूला सैन्य शक्ति भएका देशमा सूचीकृत भएकोमा यस पटक पनि अघिल्लो वर्षकै निरन्तरता पाएको छ । अघिल्लो वर्ष पाकिस्तान १३ औं स्थानमा रहेकोमा यस पटक ४ स्थान तल झरेको छ ।
दक्षिण एसीयाली मुलुक पाकिस्तान १७ र उत्तर कोरिया १८ औं ठूलो सैन्य शक्ति भएको देशमा सूचीकृत भएका छन् । गतवर्ष पाकिस्तान १३ औं ठूलो सैन्य शक्ति भएको देशमा परेको थियो । नेपालसहित जापान, टर्की, जर्मनी, इजिप्ट, इन्डोनेसिया, इजरायल, भियतनाम, अस्ट्रेलिया पोल्यान्ड लगायत ५० भन्दा बढी मुलुक सैनिक क्षमताको दृष्टिकोणले यो वर्ष अघिल्लो वर्षभन्दा तल झरेका छन् ।