कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
768

अमेरिकाले नेपाली सेनामाथि लगाएको घातक हातहतियार सहायता प्रतिवन्ध फुकुवा गरेको छ । तत्कालिन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि डेढ दशक अघि लगाइएको अमेरिकी हातहतियार सहायता (लेथल असिस्टेन्स) प्रतिवन्ध फुकुवा गर्दै आगामी दिनमा सैन्य सहायतालाई निरन्तरता दिने गरी बाटो खोलिदिएको हो ।
२०५८ सालमै सेनाले माओवादी द्वन्द्व नियन्त्रणका लागि अमेरिकाबाट घातक तथा गैरघातक सबे किसिमका सैनिक सहायता ल्याउने प्रक्रिया अघि बढाएको थियो । २०६१ माघ १९ को शाही घोषणापछि शेरबहादुर देउवा नेतृत्वको सरकार विघटनको विरोध गर्दै अमेरिकाले घातक र गैरघातक दुवै सैन्य सहायता रोक्का गरेको थियो । २०६२-६३ को जनआन्दोलनपछि गैरघातक सैन्यसहायता फुकुवा भएपनि घातक सैन्य सहायता प्रतिवन्धमा लगाइएको रोक कायम थियो ।
“अमेरिकाले डेढ दशक अघिबाट लगाउँदै आएको ‘लेथल असिस्टेन्स’ (घातक सहायता) प्रतिवन्ध फुकुवा गरेको छ,” प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भनेका छन्, “यससँगै अव अमेरिकासँग प्रतिवन्ध लाग्नु अघि जसरी नै सबै किसिमका सैन्य सहायता आदानप्रदानले निरन्तरता पाउँने छ ।” लेथल असिस्टेन्स प्रतिवन्ध फुकुवा बाहेक नेपाली सेनाका ४ वटा युनिट विरुद्ध गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा लगाइएको ‘भेटिङ लिस्ट’बाट पनि सफाई दिएको छ ।
‘भेटिङ’ कुनै अभियोग लागेमा सम्वन्धित व्यक्ति तथा संस्थामाथि गरिएको एक किसिमको छानविन प्रक्रिया हो । भेटिङमा कसूर देखिएका व्यक्ति वा संस्थालाई अमेरिकाले रोजगारी, यात्रा अनुमति, सम्मान वा कुनै पनि किसिमको अवसरबाट मूक्त गराउँन सक्छ । भेटिङ व्यक्ति वा संस्थामाथि लगाइएको एक किसिमको कालो सूची पनि हो ।
सशस्त्र द्वन्द्वकालमा गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा सेनाका १ दर्जन भन्दा बढी युनिट तथा त्यहाँ कार्यरत अधिकृतहरुमाथी भेटिङ सूचीमा समाबेस गरेको थियो । त्यसमध्ये ४ नम्बर वाहिनी अड्डा, इमामनगर ब्यारेक बाँके, ९ नम्बर बाहिनी अड्डा सिन्धुली, वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पाँचखाल र पाटन स्थित राजदल गणमाथी लगाइएको भेटिङ प्रतिवन्ध फुकुवा भएको सेनाले जनाएको छ । अन्य युनिटमाथिको भेटिङ पनि क्रमशः फुकुवा हुने सैनिक अधिकारीले स्पष्ट पारेका छन् ।