कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
511

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा गुण्डा नाइके गणेश लामालाई एक वर्ष कैद सजाय र १ करोड ४० लाख जफत गर्ने आदेश गरेको छ । हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा लामा हाल जेलमा नै छन् ।
सम्पत्ति शुद्धीकरण विभागले २७ करोड स्रोत नखुलेको सम्पति रहेको दाबी गर्दै विशेष अदालतमा रिट दायर गरेको थियो । सोही मुद्दामा फैसला गर्दै विशेष अदालतले १ करोड ४० लाखको मात्रै स्रोत नखुलेकोले जफत गर्ने आदेश दिएको हो । लामा प्रदेशसभा निर्वाचनमा काभ्रेमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सांसदको उम्मेदवार थिए । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी एकीकरणसँगै कांग्रेसमा आएका थिए ।
सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते लामासहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलन विरुद्ध मुद्दा दायर गरेको थियो । तर, अरु सबै गुण्डा नाइकेहरुले भने सफाइ पाइसकेका छन् ।

ढकाललाई थुनामा राख्न आदेश
विशेष अदालतले किर्ते हस्ताक्षर र मिलेमतो गरी ८ करोडभन्दा धेरै रकम भ्रष्टाचार गरेका लेखा अधिकृत रविनचन्द्र ढकाललाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको छ । बिहीबार विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले यस्तो आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर र इलामका नगरपालिकामा लेखा अधिकृत हुँदा भ्रष्टाचार गरेको भन्दै आइतबार आरोपत्र दायर गरेको थियो ।
त्यस्तै, उनलाई भ्रष्टाचार गर्न सहयोग गरेको अभियोग लागेका इलाम माइ नगरपालिकाका कार्यकारी अधिकृत कालिदास ढकाल भने १५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।