पेसेवर बाल यौन दूराचार अभियोगमा बेलायती नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)को विशेष टोलीले धादिङका १८ वर्ष मुनिका ३ किशोरमाथि यौन दूराचार गर्ने ५० वर्षीय बेलायती नागरिक आयन रोबर्ट कोललाई कालिमाटी (रविभवन)बाट पक्राउ गरेको हो । यौन दूराचारका लागि आयनलाई ३ किशोर उपलब्ध गराउने २ एजेण्ट पनि पक्राउ परेका छन् । एजेण्टकै सहयोगमा आयनले अविभावकलाई आर्थिक सहयोग दिने र आफूसँगै आएका किशोरलाई अंग्रेजी सिकाइदिने, मोबाइल किनिदिने लगायतका प्रलोभन पनि दिएकोे पाइएको छ । पीडितसहित दुवै एजेण्टको नाम प्रहरीले गोप्य राखेको छ । व्यूरोका अनुसार आयनले यौन दूराचारकै लागि रविभवनमा कोठा भाडामा लिएको पनि खुलेको छ । बाल यौन दूराचार पीडित तीनैजनाको उद्धार गर्नुका साथै विदेशी र दलालविरुद्ध अनुसन्धान जारी रहेको व्यूरोले जनाएको छ ।
नियमित शान्तिसुरक्षा व्यवस्थापन र अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी अधिकार केन्द्रीय सरकार मातहत रहने गरी प्रस्तावित कानुन तय भएपछि सातवटै प्रदेश सरकार रुष्ट बनेका छन् । जसका कारण केन्द्रीय सरकारलाई प्रदेश सरकारले ‘असहयोग नीति’ अवलम्वन गर्ने जोखिम पनि बढेको छ । खासगररी प्रमुख जिल्ला अधिकारीको कमाण्ड-कन्ट्रोलमा प्रहरी प्रशासन रहने र प्रदेश सरकारको गृह मन्त्रालयले सामान्य नियन्त्रणमात्रै गर्न सक्ने तथा शान्तिसुरक्षा र अपराध अनुसन्धान÷नियन्त्रणमा केन्द्रीय प्रहरी नै हावी हुने विषयमा विवाद सतहमा आएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव बालानन्द पौडेलको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को आइतबारको बैठकले पौडेललाई वित्त आयोग अध्यक्षमा सिफारिस गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा यो वर्ष ६ सय २८ उजुरी दर्ता भएका छन् । हेटौंडास्थित कार्यालयको कार्यक्षेत्रका जिल्लाबाट ४ सय ७६ र बर्दीबासस्थित कार्यालय मातहतका १ सय ५२ उजुरी दर्ता भएका छन् ।
दुई सय वर्षअघि गोर्खाली सेनाले अंगे्रेज फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीमा विजयोत्सव मनाउने तयारी गरिएको छ । वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई सोही किल्लाबाट पराजित गरिएको सम्झनामा माघ १० गते मकवानपुरगढी किल्लामा एक समारोहका बीच विजयोत्सव मनाउने तयारी गरिएको हो ।
नेपालमा बहुराष्ट्रिय सेनाबीच संयुक्त सैनिक तालिम आयोजना हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा आगामी वर्ष ३ दर्जनभन्दा बढी मुलुकका सेनाबीच संयुक्त सैनिक तालिम सञ्चालन गर्न लागिएको हो ।
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
तलब तथा भत्ता वृद्धिलगायतका माग राखेर पोखराको मणिपाल शिक्षण अस्पतालमा विगत लामो समयदेखि चलेको मजदुर, कर्मचारी आन्दोलन साम्य भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्म आएको विवाद मन्त्रालयको सक्रियातामा टुंगो लागेको छ ।
गत पुस २६ गते बाँकेको कोहलपुरमा भएको हत्याकाण्डमा संलग्न भई फरार भएको आरोपमा कोहलपुर प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । बाँके राप्ती सोनारी गाउँपालिका—२ का युवराज गिरीलाई प्रहरीले बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ बाट घुँडामुनी गोली प्रहार गरी पक्राउ गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापा भारतबाट नेपाली सेनाकै हेलिकप्टरमा स्वदेश फर्किएका छन् । भारतको औपचारिक भ्रमण पूरा गरी बुधबार प्रधानसेनपति थापा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट स्वदेश फिर्ता भएका हुन् ।
प्रधानसेनापति पूणृचन्द्र थापाको औपचारिक पोशाकको जंगी ‘क्याप’ भारतको राजधानी दिल्लीमै छुटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हंगामा भएको छ ।
विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को नाम विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर समाचार लेख्ने अनलाइनका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक श्याम रोका हुन् ।
सुदूरपश्चिम प्रदेशको प्रस्तावित स्थायी राजधानी गोदावरीमा अहिले माघीको रौनक छ । यही माघ १ गते (आज) देखि फागुन १ गतेसम्म हुने माघी मेलाको रौनक केही दिन अघिदेखि नै यहाँ सुरु भइसकेको छ ।
खानेपानीको चरम अभाव झेल्दै आएको निलकण्ठ नगरपालिका वडा नम्बर ६ मा खानेपानीको समस्या समाधान भएको छ । सर्भिस फर पिस र कोरिया इन्टरनेसन कोअपरेसन एजेन्सी (कोइका) को संयुक्त पहलमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि अहिले गाउँको मुहार नै फेरिएको छ । नवलपुरका सय घरधुरीमा अहिले घरघरमै पानीको धारा जडान गरिएको छ । घण्टौं हिँडेर पानी लिन जानुपर्ने समस्या समाधान भएपछि स्थानीयवासी खुशी देखिएका छन् ।
सरकारले निर्धारण गरेको मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ । मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रीपरिषद् बैठकले केही दिनअघि मर्यादाक्रम पारित गरेको थियो ।