कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
268

 गोरखामा ८ वर्षयता लिगलिगे दौड प्रतियोगिता गरिँदै आइएको छ । बडा दसैंको अवसरमा गरिने यो दौडको नवौं संस्करण असोज २८ गते हुने तय भएको छ । तर, हालसम्म कसैले पनि श्रीपेच जितेर पनि लैजान पाएका छैनन् । किनभने, श्रीपेच भित्र्याउने गरी धावकले पाचँ वर्षसम्म धावकको रूपमा सहभागि भई ३ पटक त विजेता नै बन्नुपर्ने नियम राखिएको छ । यसैले अहिलेसम्म भएका आठौं प्रतियोगितासम्म कसैले पनि श्रीपेच भित्र्याउन नपाएका हुन् ।
लिगलिग कोट विकास अभियानले गर्दै आएको यस दौडमा विगतका विजेताहरू पनि सहभागी हुने अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । मंगलबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा इतिहासको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता हुँदै आएको आयोजकले बताएका छन् ।

कार्यक्रम सम्पन्न गर्न २८ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ । पालुङटार नगरपालिकाले ९ लाख र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ भने स्थानीयले ३ लाख २० हजार रुपैयाँबराबरको श्रमदान गर्ने र बाँकी रकम चन्दा संकलन गरेर जुटाइनेछ । प्रतियोगीतामा सहभागीताका लागि हालसम्म सय जनाले नाम दर्ता गराएका छन् ।
पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर दूरीको दौड प्रतियोगिताको सस्ंकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने भएका छन् । प्रतियोगितामा खुला, महिला, विद्यालयका छात्रछात्रा र स्थानीय गरी ४ विधामा सहभागी धावकले प्रतिस्पर्धा गर्नेछन् । खुलातर्फ र स्थानीयले १३.८ किलोमिटरको दूरी पूरा गर्नुपर्नेछ भने महिला सहभागीले ५ किलोमिटर र विद्यालयका छात्रछात्राले ३ किलोमिटर दौडनुपर्नेछ । प्रतियोगितामा सहभागी धावकका लागि यो संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ । प्रतियोगिताको खुलातर्फको विजेताले ६० हजार १ सय रुपैयाँ नगदसहित श्रीपेच, पगरी, ट्रफी, लिगलिगकोटको राजदूतको ब्याच, एक रात लिगलिगमा लिगलिगे राजाका रूपमा राखिने र उनलार्ई मोटरमा राखेर नगर परिक्रमा गरिने रानाले बताए । त्यस्तै, दोस्रोले ३५ हजार १ सय, तेस्रोले २५ हजार १ सय, चौथोले १२ हजार १ सय र पाँचांैले ७ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । छैटौं, सातौं, आठौं र नवौं हुनेले क्रमशः ५ हजार १ सय, चार हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिलातर्फ र स्थानीय लिगलिगवासी अन्तरगत पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार ५, १२ हजार पाँच, ७ हजार ५ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, विद्यालयका छात्रछात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय रुपैयाँ पाउनेछन् । दौडमा सहभागी हुने धावकको ७ लाख रुपैयाँबराबरको बिमा गरिने अभियानका महासचिव सन्तोष देवकोटाले जानकारी दिए ।