दीननाथ बराल
बुधवार, कार्तिक २१, २०७५
269

पोखरा-घरेलु टिम पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा पोखरा पल्टनले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै उपाधिसहित २७ लाख पुरस्कार प्राप्त गरेको हो । उपविजेता भएको चितवनले भने १० लाख पुरस्कार पाएको छ ।
चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको पोखराले अन्तिम ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराको जितमा रवि इन्दर सिंहले ९० रनको महत्वपूर्ण योगदान दिए । उनले ५८ बलमा ३ छक्का र १३ चौका प्रहार गरे । पोखराका कप्तान शरद भेषावकरले २२ रन, आसिफ शेख १२, कुशल भुर्तेलले ४ रन जोडे । चितवनका भुवन कार्कीले २ तथा सन्नी पटेल र करण केसीले समान १÷१ विकेट लिए ।

टस हारेर पनि पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको थियो । चितवनका कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय इनिङ्स पूरा गर्दा अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरेका थिए । ओपनर अनिल कुमार साहले ३७ रनमा आउट भए । अनिलले ३ चौका र १ छक्का प्रहार गरे । सन्नी पट्टेलले ४३ रनको योगदान दिए । सन्नीले २१ बलमा ४ छक्का र ३ चौका प्रहार गरेका हुन् । बलिङतर्फ पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नाभिद र ललित नारायण राजवंशीले समान १ विकेट लिए ।
विजयी खेलाडीहरुको टिमलार्ई पूर्व प्रधाननमन्त्री तथा नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य गगन थापा, गण्डकी प्रदेशका सांसदहरु दीपक कोइराला, विन्दुकुमार थापा, राजीव पहारी, नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष निरञ्जन राजवंशी, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्वी लामा लगायतले पुरस्कार तिवरण गरे ।
यही ९ कात्तिकबाट पोखरामा भएको प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले सहभागिता जनाएका थिए । लिगको शीर्षस्थानमा रहेको पोखराले सिधै फाइनलमा यात्रा बनाउँदा लिगको दोस्रो र तेस्रो स्थानमा रहेका दुई टिम काठमाडौं र चितवनबीचको खेलबाट जित हासिल गरेसँगै चितवनले पोखरासँगको फाइनलमा प्रतिष्पर्धा गरेको हो । प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको प्लेयर अफ दि सिरिज चितवन राइनोजका भारतीय खेलाडी सन्नी पटेल घोषित भए । उक्त प्रतियोगिताको बेष्ट बलरमा चितवनकै करण केसी घोषित भए । त्यस्तै बेष्ट व्याट्सम्यानको उपाधि भने काठमाडौं रोयल्सका गौरव तोमर घोषित भए । उनीहरुले उक्त उपाधिसहित सुजुकी मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयर्सको उपाधि भने पोखरा पल्टनका ललितनारायण राजवंशीले पाए । उनले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी इमर्जिङ प्लेयर पोखरा पल्टनका रसिद खान घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ प्राप्त गरे । पहिलो पटक पोखरामा आयोजना गरिएको उक्त प्रतियोगितामा दर्शकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको थियो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड खर्च लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा ४ देशका १२ खेलाडीहरु सहभागि भएका थिए ।