तीर्थराज बस्नेत
बिहिवार, मंसिर २०, २०७५
342

नेपाली क्रिकेट र समर्थकलाई यतिबेला एभरेस्ट प्रिमियर लिग (ईपिएल)को ज्वरो सुरु भइसकेको छ । शनिबारबाट सुरु हुने प्रतियोगिता क्रिकेटको छोटो स्वरूप टि–२० फम्र्याटमा हुनेछ । जुन, पछिल्लो एक दशकयता विश्वमा मात्र नभएर नेपालमा समेत जम्न थालेको छ ।
ईपीएल, धनगढी प्रिमियर लिग (डीपीएल) र यही वर्षदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) गरी नेपालमा तीनवटा ठूला टि–२० लिग हुने गरेका छन् । समर्थकमाझ विस्तारै क्रिकेटको रस भिज्न थालेको छ । जसका कारण क्रिकेटप्रतिको आकर्षण बढ्न थालेको छ । समर्थकमात्रै होइन लगानीकर्ता (प्रायोजक)को समेत क्रिकेटमा आकर्षण केही वर्षयता बढ्दो छ ।

नेपालमा फ्रेन्चाइजी क्रिकेटको अवधारणा सुरु भएको छ । भारतको आईपीएल, बंगलादेशको बीपीएल, अष्ट्रेलियाको विगवासलगायत विभिन्न देशमा हुने गरेका टी–२० क्रिकेटमा निजी क्षेत्रले ठूलो लगानी गर्दै आएका छन् । त्यसलाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएर प्रबद्र्धन पनि गरेको छ ।
ईपीएलले तेस्रो संस्करणसम्म आइपुग्दा अपेक्षा गरेभन्दा ठूलो सफलता प्राप्त भएको प्रमुख आयोजक पूर्व राष्ट्रिय क्रिकेटर तथा ईपीएलका संस्थापक आमिर अख्तर बताउँछन् । “हामी तयारीको अन्तिम चरणमा छौं, अनुभवका आधारमा पनि यो पटक गत वर्षभन्दा उत्कृष्ट गर्ने तयारीमा छौं,” उनले भने ।
विस्तारै नेपालमा समेत कर्पोरेट सेक्टरले क्रिकेटमा लगानी बढाएका छन्, जुन आशाको किरण भएको जानकारहरू बताउँछन् । पछिल्लो समय कर्पोरेट हाउसहरूले ब्राण्ड प्रमोसनका लागि पनि क्रिकेटमा लगानी गरिरहेका छन् ।
“नेपाली क्रिकेट व्यावसायिक बन्दै गएको छ । निजी क्षेत्रले विभिन्न रूपमा लगानी गरिरहेका छन् । जसले क्रिकेटको विकासमा ठूलो टेवा पुगेको छ,” ईपीएल टोली चितवन टाइगर्सका अपरेसन म्यानेजर प्रसन्न शाक्यले भने ।
व्यावसायिक लिगका कारण राष्ट्रिय क्रिकेटमा समेत सकारात्मक असर देखिएको छ । जसका कारण नेपालले एक दिवसीय मान्यता प्राप्त गरेको छ र विश्व वरियताको १५ औं स्थानमा छ । चार वर्षयता सुरु भएका व्यावसायिक लिगमा पनि लगानी बढ्दै गएको छ । जसले खेलाडीको जीवनस्तर र वृत्तिविकासमा समेत सहयोग पु¥याएको राष्ट्रिय क्रिकेट टिम तथा विराटनगर वारियर्सका कप्तान पारस खड्काले बताए । “अहिले नेपाली क्रिकेट सही दिशामा हिँडिरहेको छ र व्यावसायिक पनि बनिरहेको छ । विस्तारै परिवर्तनको आभाससमेत भइरहेको छ,” उनी भन्छन्, “विदेशी खेलाडीहरू समेत नेपालमा लिग खेल्न आइरहेका छन् । जुन हाम्रा लागि सकारात्मक कुरा हो ।”
नेपाली क्रिकेट व्यावसायिक बाटोमा जाँदा प्रसन्नता व्यक्त गर्ने उनी नेपाल क्रिकेट संघमा देखिएको विवादको अन्त्य भए थप प्रगति गर्न सकिने बताउँछन् । “क्यानको विवादका कारण आइसीसीले हामीलाई निलम्बन गरेको छ,” उनी भन्छन्, “यो विषय सुझिल्ए थप राम्रो हुने थियो । आशा छ, चाँडै यो विषयको टुंगो लाग्ला ।”
लिगले खेलाडीलाई व्यावसायिकतातर्फ लगिरहेको छ । विभिन्न कम्पनीले क्रिकेटरलाई ब्राण्ड एम्बेसडर बनाइरहेका छन् । यस्ता प्रतियोगिताका कारण खेलाडी व्यावसायिक हुँदा नेपाली क्रिकेटर विभिन्न देशका लिगमा समेत खेल्ने क्रम सुरु भएको छ । जसको उदाहरण युवा क्रिकेटर सन्दीप लामिछाने हुन् । उनले आईपीएललगायतका विभिन्न देशमा खेलिसकेका छन् । विश्व बजारमा उनको मूल्य आकाशिँदो छ ।
नेपालमा करिब २० क्रिकेट एकाडेमी सञ्चालनमा छन्, जसलाई क्रिकेट विकासका हिसाबले ठूलो फड्कोका रूपमा लिइएको शाक्य बताउँछन् । जानकारहरूका अनुसार लिग खेल्ने एक टोलीले कम्तिमा १ करोड रुपैंयाँ लगानी गर्ने गरेका छन् भने तीन ठूला प्रतियोगितामा वार्षिक करिब ३० करोड बढी लगानी हुने गरेको छ ।
उदीयमान नेपाली क्रिकेटले भौतिक पूर्वाधारको अभाव भने झेल्दै आएको छ । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई मात्रै आइसीसीले मान्यता दिएको छ । मूलपानी क्रिकेट स्डेडियमले मान्यता पाइसकेको छैन । पर्याप्त भौतिक पूर्वाधार हुने हो भने क्रिकेटबाट थप उपलब्धि हासिल गर्न सकिने बताइँदै आइएको छ । “हरेक प्रदेशमा एक–एक स्टेडियमको खाका तयार भयो र आइसीसीले एप्रुभ गर्नसक्ने अवस्था बन्यो राम्रो हुन्छ,” शाक्य भन्छन्, “त्यस्तो अवस्था बन्यो भने विदेशी प्रतियोगिता यहाँ आयोजना गर्न सकिन्छ । जसले खेल क्षेत्रमा मात्रै होइन पर्यटन विकास समेत योगदान गर्छ ।”