कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
209

ईपीएलमा विदेशी खेलाडीको आकर्षण बढेको छ । अफसिजन र नेपाल उदयीमान राष्ट्र भएका कारण विदेशी खेलाडीको आकर्षण बढेको बताइएको छ ।
ईपीएल प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडी राख्नैपर्ने प्रावधानअनुसार सहभागी ६ टिमले विभिन्न देशका १७ खेलाडीलाई अनुबन्ध गरिसकेका छन् । टेष्ट खेल्ने आयरल्यान्ड, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाका खेलाडीदेखि एकदिवसीय मान्यताप्राप्त राष्ट्र नेदरल्यान्ड्स र स्कटल्यान्डका खेलाडी पहिलो पटक नेपाली लिग खेल्न नेपाल आएका छन् । यो महत्वपूर्ण उपलब्धी भएको कप्तान पारस खड्काको भनाइ छ । उत्कृष्ट विदेशी खलाडीसँग खेल्न पाउँदा स्थानीय खेलाडीलाई प्रेरणा मिल्ने उनको भनाइ छ ।

ईपीएलमा स्कटल्यान्डका कप्तान काइल कोइटजर, आयरल्यान्डका पाउल स्टर्लिङ र केभिन ओ ब्रायन, नेदरल्यान्ड्सका रायन टेन दोसच्याटे, पाउल भान मेकेरेन लगायतका खेलाडी लिगमा सहभागी हुनेछन् ।
ईपीएलमा चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, काठमाडौं किङ्स—११, ललितपुर प्याट्रियोट्स र पोखरा राइनोजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो वर्ष विजेता विराटनगर वारियर्सले पुरस्कारस्वरुप २१ लाख रुपैयाँ नगद पाएको थियो । यो वर्ष भने पुरस्कार राशी बढाउने वा नबढाउने तय भइनसकेको बताइन्छ ।
यसैबीच पाउल स्टिर्लिङ (आयरल्याण्ड्स), जर्ज स्कट (इंग्ल्याण्ड), जोन सिम्पसन (इंग्ल्याण्ड)लाई खेलाइरहेको चितवन टाइगर्सले आफनो टोलिको कप्तान पृथु बास्कोटालाई तोकेको छ । नेपाली राष्ट्रिय टोलिका काप्तानसमेत रहेका बास्कोटासहित चितवन टाइगर्समा दीपेन्द्र सिंह ऐरी पनि रहेका छन् । टिम प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी कलाम अलि रहेका छन् भने टिम लिडर तथा म्यानेजर एवं टेक्निकल डाइरेक्टरमा स्यमासङजंग थापा रहेका छन् ।
कारोबार मिडिया पार्टनर रहेको चितवन टाइगर्सको बन्द प्रशिक्षण काठमाडौंमा चलिरहेकोे छ ।
चितवन टाइगर्सलाई कुमारी बैंकको प्रायोजन
कुमारी बैंक लिमिटेडले क्रिकेट खेलको विकासमा सहयोग पु-याउने उद्देश्यले यही मंसिर २२ देखि पुस ६ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा सञ्चालन हुन गइरहेको ‘एभरेष्ट प्रिमियर लिग टी–२० टुर्नामेन्ट’ मा सहभागी टोली ‘चितवन टाइगर्स’ लाई प्रायोजन गरेको एक समारोहका बीच जानकारी गराएको छ । उक्त समारोहमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिमका कप्तान पृथु बास्कोटासहित अन्य खेलाडीहरुलाई जर्सी प्रदान गरी सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । क्रिकेट खेलमा संलग्न युवा प्रतिभाहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले बैंकले पृथुु बास्कोटाको कप्तनीमा प्रतिस्पर्धा गर्न गईरहेको चितवन टाइगर्सलाई प्रायोजन गरेको जनाएको छ ।

यी हुन् ईपीएल खेल्ने विदेशी खेलाडी

चितवन टाइगर्स

पाउल स्टर्लिङ (आयरल्याण्ड्स), जर्ज स्कट (इंग्ल्याण्ड), जोन सिम्पसन (इंग्ल्याण्ड)

काठमाडौं किंग्स–११

रोहन मुस्ताफा (कप्तान, यूएई), केभिन ओ’ब्राइन (आयरल्याण्ड्स)

ललितपुर प्याट्रियोट्स

जयकिशन कोल्सावाला(भारत), सन्नी पटेल(भारत), गौरव तमोर (भारत)

विराटनगर वारियर्स

बाबर हायात (हङकङ), पाउल भेन म्याकेरन (नेदरल्याण्ड्स), रोलोफ भेन डि मार्वे (नेदरल्याण्ड्स), स्मीत पटेल (भारत)

भैरहवा ग्लाडियटर्स

रायन टेन ड्यासच्याट (नेदरल्याण्ड्स), मोहम्मद नाभिद (यूएई), रविइन्दर सिंह (भारत)

पोखरा राइनोज

सन्नी भिमसारिया (हङकङ), कायल कोल्ट्जर (स्कटल्याण्ड), पाउल कोलिङ (इंग्ल्याण्ड), रिचार्ड लेभी (दक्षिण अफ्रिका)