दीननाथ बराल
बुधवार, पुष २५, २०७५
486

पोखरा-पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदानसहित १८ हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने भएको छ ।
भारतको एक कम्पनीसँग राष्ट्रिय खेलकुद परिषद्ले सम्झौता गरेसँगै ११ महिनाभित्र अन्तर्राष्ट्रियस्तरको फुटबल मैदानसहित १८ हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । केही महिनादेखि ग्लोबल टेन्डर आह्वान गर्दा प्राविधिक कारणले टेन्डर पर्न नसके पनि पछिल्लो पटक परेका दुई कम्पनीमध्ये भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा राखेपसँग सम्झौता गरेको कार्यालय प्रमुख बरालले जनाए ।

उक्त कम्पनीले २१ दिनभित्र उक्त प्रोजेक्टको डिजाइन स्वीकृत लिएसँगै १० महिनाभित्र पोखरा रंगशालाभित्र अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, फुटट्रयाक, १८ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने बरालले जनाए । उक्त प्रोजेक्टका लागि नेपाल सरकार अर्थ मन्त्रालयले १ अर्ब ७३ करोड ५५ लाख रुपैयाँको बजेट सुनिश्चित गरेको क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए । उनका अनुसार यस आवमा अर्थ मन्त्रालयले ५५ करोड विनियोजन गरेको छ । यसअघि उक्त प्रोजेक्टमा एक अर्ब ३८ करोडको प्रस्ताव गरिए पनि पछि केही काम थप गरिने भएपछि बजेटको आकार बढेको उनले जनाए । पहिलाको भन्दा पछि एथ्लेटिक्सको लागि फुटट्रयाक र म्याटसमेत राख्ने भएकाले बजेटको आकार बढ्न गएको ताम्राकारले जनाए । सन् २०१९ मा नेपालमा आयोजना गरिने १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग गेम्स) लाई मध्यनजर गर्दै नयाँ फुटबल मैदानसहितको प्यारापिट निर्माण गर्न पनि पुरानो प्यारापिट भत्काइएको छ ।
पछिल्लो समय पोखरा रंगशालामा फुटबलसहितको प्यारापिट निर्माणका लागि प्रस्ताव पेस गर्नेमा चाइनाको सीएमई कन्स्ट्रक्सन प्रोजेक्ट बेइजिङ कम्पनी लिमिटेडले नेपालको सीएबी कन्सट्रक्सन एचडी लि जावलाखेल ललितपुरसँगको ज्वाइन्ट भेन्चर तथा भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन जावलाखेल ललितपुरको ज्वाइन्ट भेन्चरमा प्रस्ताव पेस गरेका थिए ।