कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५
325

आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज-आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपालगन्जमा बुधबारबाट शुरु भएको पुरुष हक्की प्रतियोगितामा नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दबाबमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ ।
आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । “आर्मीले गण्डकीलाई खेल अवधिभर दबाबमा राखे पनि गोल गर्न सकेन,” उनले भने ।

दोस्रो खेलमा प्रदेश नं. ३ लाई प्रदेश नं. २ ले शून्यका विरुद्ध पाँच गोल गरेर विजयी भएको छ । खेल अवधिभर प्रदेश नं. ३ लाई दबाबमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे । खेलको ३८ औँ मिनेटमा २ नं. प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे भने खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नं. प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।
निरन्तर दबाबमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक शर्माले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन प्रदेश नं. ३ का खेलाडीले कुनै गोल गर्न नसकेपनि खेलाडीको प्रदर्शन एकदमै राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताए । उनले २ नं. प्रदेशका पुराना र अनुभवी खेलाडीसँग ३ नं. प्रदेशका नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नु नै सौभाग्य भएको बताए ।
उनले प्रतियोगितामा सहभागी सबै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । “खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,” उनले भने ।
बिहीबार गण्डकी प्रदेश र नेपाल पुलिस, नेपाल आर्मी र प्रदेश नं. २ तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।