कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
404

 विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा २१० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । एपीएफलाई उपाधि दिलाउन अनिलकुमार शाह र प्रदीप ऐरीले समान ६३–६३ रन बनाए । त्यस्तै, पृथु बास्कोटाले ३२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेटको क्षतिमा २०९ रन बनाएको थियो । आर्मीका लागि भिम सार्कीले ४५ रन बनाए । त्यस्तै, सोमपाल कामीले ३६ र कप्तान विनोद भण्डारीले ३५ रन बनाउँदा राजेश पुलामी मगरले २७, नरेश बुढाऐरले २० र अनिल कुमार मण्डलले १९ रन जोडे ।
एपीएफका लागि बलिङतर्फ करण केसीले ३, बसन्त रेग्मी र भुवन कार्कीले समान २–२ विकेट लिएका थिए ।
प्रतियोगिताको विजेता बनेको एपीएफ क्लबले २० लाख नगदसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको आर्मीले १० लाख नगदसहित ट्रफी हात पारेको छ ।