तीर्थराज बस्नेत
बिहिवार, जेठ ३१, २०७५
581

फुटबल अर्थात् सुन्दर खेल । फुटबल खेल्नेका लागिमात्रै होइन, हेर्नेलाई पनि उत्तिकैजसो मज्जा आउँछ । फुटबल हेर्न ज्ञाता नै हुनुपर्दैन, सामान्य नियम बुझ्नुस्, तपाईंमा रस भिज्न थाल्छ । केही समय ध्यान दिएर, हेर्नुस् तपार्इंमा फुटबलको नसा पस्छ, त्यो पनि सधैंका लागि ।
फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल मेत हो । किनकी यो आफैंमा कलात्मक हुन्छ । त्यसैले त भनिएको हो, ‘ब्यूटिफुल गेम’ अर्थात् सुन्दर खेल । फुटबलको पनि महाकुम्भ हो विश्वकप । जसको २१ औं संस्करण आजदेखि रसियामा सुरु हुनेछ । अबको एक महिना संसारभरका फुटबल प्रेमी झुम्नेछन् र मज्जा लिनेछन् । विश्वको आधा जनसंख्या विश्वकपको नशामा डुब्नेछ र हेर्नेछ । नहेर्नेले पनि विश्वकपको चर्चा सुन्छन् र गर्छन् ।
जुन १४ देखि जुलाई १५ सम्मको समय फुटबलको हो । यो बेला न अन्य खेलकुद प्रतियोगिता आयोजना नै गरिन्छ, नत अन्य खेलका चर्चा नै हुनेछन् । पूरै एक महिना फुटबलमात्र । ३२ देश सहभागी हुने प्रतियोगितामा ३१ देशले छनोट चरण पार गरेर आएका हुन् । रसिया मात्रै हो, जो आयोजक राष्ट्रको हैसियतमा सिधै विश्वकप खेल्दैछ । ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
सबै समूहमा चार–चार टोली छन् । समूह चरणमा राउण्ड रोबिनका आधारमा खेल हुनेछ । चारै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । सुरुमा ३२ टोलीकै ध्यान नकआउट चरणमा पुग्ने हुनेछ । समूहका शीर्ष दुईमा रहने टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । जुन नकआउटको आधारमा हुनेछ, यसको अर्थ खेल हारियो, घर फिर्ता भन्ने हो । जब नकआउट सुरु हुन्छ, त्यही बेला रोमान्चक ट्राइबेकरको पनि सुरु हुन्छ । अन्तिम १६ का खेलपछि क्वाटरफाइनल, सेमिफाइनल र अन्त्यमा फाइनल । फाइनल जुलाई १५ मा हुनेछ ।

यस्तो हुनेछ उद्घाटन समारोह
विश्वकपको उद्घाटन सत्र नेपाली समयअनुसार बिहीबार राति ८ः१५ मा मस्कोस्थित लुजिन्की स्टेडियममा हुनेछ । त्यसको आधा घण्टापछि रसिया र साउदी अरेबियाबीच उद्घाटन खेल हुनेछ । सन् २०१० को डिसेम्बरमा फिफाले २०१८ को विश्वकप रसियालाई आयोजना गर्न दिने निर्णय गरेको थियो । सन् १९३० देखि सुरु भएको विश्वकप ८८ वर्षपछि रसियाले पहिलो पटक आयोजना गर्न लागेको हो ।
उद्घाटन सत्रमा तीन अन्तर्राष्ट्रिय स्टारले प्रस्तुति दिनेछन् । ब्रिटिश रकस्टार रोबी विलियम्सले रसिया विश्वकपको अफिसिल गीत प्रस्तुत गर्नेछन् । यस्तै रुसी गायिका सोप्रानो एडा गारिफुलिनाले समेत सांगीतिक प्रस्तुति दिनेछिन् । यस्तै ब्राजिलबाट दुई पटक विश्वकपको उपाधि जितेका लिजेण्ड रोनाल्डो समेत उद्घाटन सत्रमा सहभागि हुनेछन् । उद्घाटन समारोह अघिल्लो संस्करण भन्दा फरक हुने फिफाले जनाएको छ ।
यो पटक उद्घाटन सत्रमा सांगीतिक कार्यक्रमलाई बढी महत्व दिइनेछ । आयोजक राष्ट्र रसियाले विश्वकपको उद्घाटन सत्रलाई उल्लासमय बनाउन रसियामा सर्वाधिक लोकप्रिय युवा गायिका एडा गारिफुलिनाले विषेश प्रस्तुति दिनेछिन् । उद्घाटन सत्रमा ८० हजार दर्शक उपस्थित हुने फिफाले जनाएको छ । उद्घाटन सत्रको तयारी रसिया च्यानल वानले गरेको हो । यो कन्सेप्टको डिजाइन फेलिक्स मखिाइलोभले गरेका हुन् । उद्घाटन समारोहमा रसियन संस्कृति झल्कने प्रस्तुति समेत रहनेछन् । यो प्रस्तुतिमा ५ सयभन्दा बढी कलाकार सहभागी हुने बताइएको छ । यसलाई विश्वकप आयोजक राष्ट्रहरूको महत्वपूर्ण अवसरका रुपमा लिइने गरिएको छ ।
रसियाले विश्वकप आयोजना गर्न १३ अर्ब अमेरिकी डलर बढी खर्चिएको छ । जसमध्ये सरकारले ७० प्रतिशत र निजी क्षेत्रको ३० प्रतिशत लगानी रहेको बताइएको छ । यो रकम नेपालको एक वर्षको बजेटबराबर हो ।

दाबेदार को ?
विश्वकप खेल्ने ३२ वटै राष्ट्र उपाधि जित्ने लक्ष्यका साथ रसिया पुगेका छन् । तर, सबैको यो सपना पूरा हुँदैन, आखिर उपाधि त एक टिमले मात्रै जित्ने हो । यो पटक ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन र अर्जेन्टिनालाई मुख्य दावेदारका रुपमा हेरिएको छ । यीनै पाँच राष्ट्रबीच उपाधिका लागि मुख्य भिडन्त हुने अनुमान गरिएको छ ।

जो चर्चामा छन्
विश्वकपमा व्यावसायिक फुटबलमा सर्वाधिक सफल अर्जेन्टिनाका मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेयमार चर्चामा छन् । मेस्सी करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानका साथ रसिया पुगेका छन् । अर्जेन्टिनालाई २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुर्याएर पनि उनी उपाधि जित्न असफल बनेका थिए ।
२०१६ मा पोर्चुगललाई यूरोकपको उपाधि जिताएका रोनाल्डो विश्वकपको उपाधि जित्न चाहन्छन् । उनले यो उपलब्धी हासिल गर्न भरमग्दुर प्रयास गर्नेछन् । विश्वका महँगा खेलाडी नेयमार करियरको पहिलो र ब्राजिलका लागि छैटौं उपाधि जित्ने अभियानमा हुनेछन् । यी तीन बाहेकका जर्मनीका थोमस मुलर, फ्रान्सका एन्टोनी ग्रिजमन, कोलम्बियाका जेम्स रोड्रिग्वेज, उरुग्वेका लुइस स्वारेज, इंग्ल्याण्डका ह्यारी केन, बेल्जियमका इडेन हर्जाडलगायतका खेलाडी पनि चर्चाको शिखरमा छन् ।

३२ टिमका ७६३ खेलाडी
रसियाका ११ सहरमा रहेका १२ स्टेडियममा विश्वकपमा खेल हुँदैछन् । ३२ टिमका ६४ खेलमा ७३६ खेलाडी मैदानमा उत्रनेछन् । विश्वकपको उपाधि यूरोपियन देशहरूले ११ पटक जितेका छन् । यस्तै दक्षिण अमेरिकी देशहरूले ९ पटक जितेका छन् । ब्राजिलले सर्वाधिक पाँच पटक उपाधि चुम्दा जर्मनी र इटाली चार–चार पटक उपाधि जित्दै दोस्रो नम्बरमा छन् । विश्वकपको सबै संस्करणमा भाग लिने एकमात्रै टिम ब्राजिल हो ।

पुरस्कार कति ?
२०१४ को तुलनमा २०१८ को विश्वकपको पुरस्कार राशि ३ सय ५८ मिलियन डलरबाट बढाएर ४ सय मिलियन पुर्याइएको छ । २०१८ रसिया विश्वकपको विजेताले २०१४ मा ब्राजिलमा भएको विजेताले भन्दा ३ मिलियन अमेरिकी डलर बढी पाउनेछ । यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८–८ मिलियन पाउनेछन् । अन्तिम १६ बाट बाहिरिने ८ टोलीले १२–१२ मिलियन अमेरिकी डलर पाउनेछन् । क्वाटर फाइनलबाट बाहिरिने ४ वटा टिमले १६–१६ मिलियन पाउनेछन् । चौथो हुनेले २२ मिलियन पाउँदा तेस्रो हुने टोलीले २४ मिलियन पाउनेछ । उपविजेताले २८ मिलियन र विजेताले ३८ मिलियन डलर पाउने फिफाले जनाएको छ ।

छुटाउनै नहुने खेल
१. स्पेन भर्सेस पोर्चुगल
दुई यूरोपियन पावरहाउसबीचको खेल निकै रोमाञ्चक हुनेछ । क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल र डियोगो कोस्टा, इस्को जस्ता युवा र पिके, रामोस, इनिएस्टालगायत दिग्गज खेलाडी रहेको स्पेन विरुद्ध मैदान उत्रनेछ । यो खेल शुक्रबार राति हुनेछ ।

२. ब्राजिल भर्सेस कोस्टारिका
ब्राजिलले आफ्नो दोस्रो खेलमध्ये अमेरिकी टोली कोस्टारिका विरुद्ध खेल्नेछ । यो खेल २२ जुनमा हुनेछ । ब्राजिलमा भएको विश्वकपमा कोस्टारिकाले उत्कृष्ट प्रर्दशन गरेको थियो । ‘ग्रुप अफ डेथ’ मा रहेको उसले उरुग्वे र इटाली जस्ता बलिया टोलीलाई हराएको थियो । समूह डीको विजेता बन्दै कोस्टारिका अघिल्लो चरण प्रवेश गरेको थियो । ब्राजिल विरुद्ध पनि कोस्टारिकाले उत्कृष्ट प्रर्दशन गर्न सक्छ ।

३. इंग्ल्याण्ड भर्सेस बेल्जियम
यो खेल इंग्लिस प्रिमियर लिगका प्रशंकका लागि विषेश हुनेछ । किनकी यो खेलमा लुकाकु विरुद्ध ह्यारी केन, रहिम स्टर्लिङ विरुद्ध डि ब्रुने, डेले अली विरुद्ध इडेन हर्जाड मैदानमा हुनेछन् । उनीहरूले एक अर्कालाई नजिकबाट जान्दछन् । यो समूह चरणको उत्कृष्ट खेलमध्ये एक हो । यो खेल २८ जुनमा हुनेछ ।

४. अर्जेन्टिना भर्सेस आइसल्याण्ड
२०१४ मा विश्वकप ट्रफीको नजिक पुगेर चुकेको अर्जेन्टिना रुसमा एक कदम अघि बढ्न चाहन्छ । त्यसका लागि ऊ निकै सचेत देखिएको छ । विपक्षीलाई कमजोर आँक्ने हो भने अर्जेन्टिनाका लागि खतरा निम्तन सक्छ । तर, आइसल्याण्ड पनि आफ्नो पहिलो विश्कपमा उत्कृष्ट प्रर्दशन गर्दै अर्जेन्टिनालाई हराउने दाउमा हुनेछ । फुटबलप्रेमीहरूका लागि विषेश यो खेल १६ जुनमा हुनेछ ।

५. जर्मनी भर्सेस मेक्सिको
विश्व विजेता जर्मनी र मेक्सीकोबीचको खेल पनि समूह चरणको अर्को महत्वपूर्ण खेल हो । उपाधि रक्षा गर्ने अभियानमा रहेको जर्मनीलाई रोक्ने दाउ मेक्सिकोको हुनेछ । निकै रोमान्चक हुने अनुमान गरिएको यो खेल १७ जुनमा हुनेछ ।