कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
347

रसियामा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार राति दुई यूरोपियन ‘हेभिवेट’ फ्रान्स र बेल्जियम भिड्दैछन् । रसिया विश्वकपको सुरुवातदेखि नै सशक्त प्रदर्शन गर्दै आएका दुई टोलीबीचको रोमाञ्चक खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।
दुवै टोलीले विश्व फुटबलका दुई शक्ति राष्ट्रमाथि जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । क्वार्टरफाइनलमा एक पटकको विश्वविजेता फ्रान्सले दुई पटकको विश्वविजेता उरुग्वेलाई २–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । यता बेल्जियमले भने पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
फ्रान्स २००६ यता पहिलो पटक अन्तिम चारमा पुग्न सफल भएको हो भने बेल्जियम १९८६ मा भएको विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । दुवै टोली एकअर्कालाई पन्छाउँदै फाइनल प्रवेश गर्ने दाउमा हुनेछन् ।
तर दुवैको अभियान त्यति सहज चाहिँ हुने छैन । समूह चरणदेखि क्वार्टरफाइनलसम्म दुवै टोलीको प्रर्दशन हेर्ने हो भने फाइनल को प्रवेश गर्ला भनेर अनुमान गर्नु निकै गाह्रो हुनेछ । त्यसैले पनि यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । फुटबल विश्लेषकहरुको आधार मान्ने हो भने फ्रान्स र बेल्जियमबीचको खेलको विजेताले नै विश्वकपको उपाधि जित्ने सम्भावना प्रवल छ ।
फ्रान्सका १९ वर्षिय केलियन एमबाप्पले सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वलाई चकित बताएका छन् । यस्तै पल पोग्वा, एन्टोनि ग्रिजमन जस्ता प्रतिभावान खेलाडी फ्रान्सको टोलीमा छन् । यता बेल्जियमका रोमेलु लुकाकुले प्रतियोगितामा चार गोल गरिसकेका छन् । इडेन हजार्ड, कभिन डि ब्रुने जस्ता प्लेमेकर बेल्जियमसँग छन् । जसका कारण पनि यो खेल निकै रोमाञ्चक हुनेछ ।

हेड टु हेड
फिफा विश्व वरियतामा बेल्जियम तेस्रो नम्बरमा रहँदा फ्रान्स सातौं नम्बरमा छ । दुई टोलीबीच अहिलेसम्म ७३ पटक भेट भएको छ । जसमा बेल्जियम ३० पटक विजयी हुँदा फ्रान्सले २४ जित दर्ता गरेको छ । १९ खेल बराबरीमा सकिएका छन् । फ्रान्स विरुद्ध बेल्जियमले १६० गोल गरेको छ भने फ्रान्सले १२७ गोल फर्काएको छ ।
रसिया विश्वकप फ्रान्सको १५ औं सहभागिता हो भने बेल्जियमको १३ औं सहभागिता हो । फ्रान्सले १९९८ मा विश्वकपको उपाधि जितेको थियो । बेल्जियम भने रसियामा फ्रान्सलाई हराएर विश्वकपको पहिलो उपाधि जित्ने अभियानमा हुनेछ । विश्वकपमा फ्रान्स र वेल्जियमबीच अहिलेसम्म २ पटक भेट भएको छ र फ्रान्स दुवै खेलमा विजयी भएको छ ।

सम्भावित लाइनअप
फ्रान्सः ह्युगो ललोरी, लुकास हर्नार्नी, सेमुअल उम्टीटी, राफेल भरान, कान्टे, पल पोग्बा, ब्लेज माटुइडी, एन्टोनी ग्रिजमन, केलियन एमबाप्पे, अलिभियर जिउरुड ।
बेल्जियमः थिबाउट कार्टोइस, वन भेर्टोगेन, भिसेन्ट कम्पनी, थोमस भेर्माएलन, टोबी एल्डरवेयरल्ड, यानिक करास्को, एक्सेल विट्सेल, केविन डि ब्रुने, नसार चाड्ली, इडेन हर्जाड, रोमेलु लुकाकु ।
पे्रडिक्सनः २–१ (फ्रान्स, अतिरिक्त समय)