एजेन्सी
बुधवार, असार २७, २०७५
318

गत शुक्रबार फ्रान्स र उरुग्वेको खेल एक ठूलो स्क्रिनमा क्रास्नोदार सहरका फुटबल प्रेमीहरूले हेरिरहेका थिए । यो सहर रुसको सबैभन्दा धेरै फुटबल ‘क्रेज’ भएको सहर हो । तर, त्यहाँका बासिन्दा भने विश्वकप अवधिमा खिन्न छन् । किनकी त्यो सहरमा विश्वकपका कुनै पनि खेल भएनन् । ‘यो विश्वकप खेलाउन लायक सहर हो । यसलाई एक फुटबलको सहर भन्दा पनि फरक पर्दैन,’ क्रास्नोदारका डेलिएल शमतोकोभ भन्दै थिए, ‘अहिले यहाँको वातावरण शान्त छ । यहाँ विश्वकपका खेल हुने भए प्रशंसकहरूले सहर भरिन्थ्यो । हामी फुटबललाई माया गर्छौ, तर यो पटक हामी छुट्यौं ।’
२०१८ को विश्वकपका बाँकी खेल सेन्ट पिटर्सवर्ग र मस्कोमा हुनेछन् । विश्वकपका खेल रसियाका विभिन्न ११ सहरमा भए । तर त्यो फुटबल ‘क्रेजी’ सहरमा भने कुनै पनि खेल खेलाइएन । ‘सबैभन्दा फुटबल क्रेजी सहर विश्वकप भन्दा बाहिर रह्यो,’ सहरका अर्बपति सर्गेइ एन गेलिट्स्कीले ट्वीटरमा लेखेका छन्, ‘मलाई विश्वास नै लागिरहेको छैन ।’

क्रास्नोदारमा एक भव्य स्टेडियमसमेत छ । जुन स्टेडियम गेलिट्स्कीले निर्माण गरेका हुन् । उनी एक फुटबल व्यवसायीसमेत हुन् । उनले रिटेल मार्केटबाट कमाएर फुटबल व्यवसायमा हात हाले । उनले त्यहाँको फुटबल संस्कृति समेत परिवर्तन गराइदिएका छन् ।
यो सहर रुसको दक्षिणी क्षेत्रमा पर्छ । यो सहर २०१२ अघि विश्वकप खेलाइने प्रस्तावित सूचीमा थियो तर, त्यही वर्षको अन्तिममा त्यो सहरको नाम काटिएको थियो । ३ लाख १४ हजार जनसंख्या भएको यो सानो सहर रुसमा फुटबल सहरका रूपमा परिचित छ ।
विश्वकपका खेल यो सहरमा नखेलाइने भएपछि स्थानीय निकै दुःखी भएका थिए । किनकी यो सहर रसियाको एकमात्रै सहर हो, जहाँ मस्को बाहिर देशका दुई ठूला क्लब छन् । त्यो सहरमा गेलिट्स्की र म्यूनिसिपल कुआन नामका चर्चित क्लब छन् । म्यूनिसिपल रसियाको सबैभन्दा पुरानो क्लब मध्ये एक हो ।
विश्वकपका खेल नभएपछि बढ्दो आलोचनाको प्रतिरक्षा गर्दै रुसी अधिकारीले विश्वकप खेलाउने सहरको अन्तिम छनोट फिफाले गरेको बताएका थिए । खेलकुद मन्त्री भिट्ली मुट्कोले सोचीमा शितकालिन ओलम्पिकका लागि बनाइएको स्टेडियमको तुलनामा क्रास्नोदारको स्टेडियम सानो रहेकाले यस्तो निर्णय लिइएको बताएका थिए ।
तर, यो क्रास्नोदारको स्टेडियम भन्दा साना स्टेडियममा समेत विश्वकपका खेल खेलाइएको छ । क्रास्नोदारमा साँघुरो सडक विश्वकपका खेलका लागि बाधक बनेको तर्क समेत हुने गरेका छन् । तर स्थानीय भने विश्वकपका इभेन्ट भएको भए राजमार्ग निर्माणको अवसरसमेत आउने र त्यसले सहरको स्वरुप परिवर्तन गर्ने बताउँछन् ।
क्रास्नोदारको स्टेडियम राज्यले बनाएका अन्य स्टेडियमको तुलनामा राम्रो रहेकाले राज्य र व्यक्तिले बनाएको स्टेडियमको तुलना संसारभर हुने खतराका कारण त्यहाँ विश्वकपका खेल नखेलाइएको चर्चा समेत हुने गरेको छ ।
अन्य स्टेडियम टाढाबाट भव्य देखिए पनि सस्तो र गुणस्तरहीन सामग्रीले निर्माण गरिएका छन्, तर क्रास्नोदारको स्टेडियम ३१६ मिलियन भन्दा कम लागतमा बनाइपनि भव्य रहेको चर्चा हुने गरेको छ ।
यो कुरा सन् २०१७ मा भएको कन्फेडेरेशन कप हुँदा नै पुष्टि भएको बताइन्छ । त्यो बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फिफा अध्यक्ष गियानी इन्फेन्टिनो सोही स्टेडियमको भिआइपी बक्समा बसेर स्टेडियमको प्रसंशा गरेका थिए ।
यद्यपि यो स्टेडियम विश्वकपका लागि निर्माण गरिएको थिएन, तर कन्फेडेरेशन कपका केही खेल भने यहाँ भएका थिए । स्पेनको राष्ट्रिय टोलीले यो स्टेडियममा अभ्यास गरेको थियो । स्पेनिस खेलाडीले स्टेडियमको प्रसंशा गरेका थिए । स्पेनका खेल निर्देशकले भनेका थिए, ‘केहीलाई लाग्न सक्छ क्रास्नोदार सानो सहर हो । तर यहाँ जो जान्छ, उसले त्यहाँ अद्भूत स्टेडियम देख्नेछ ।’
(एजेन्सीको सहयोगमा)