कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
351

जुम्ला-कर्णालीमा पहिलो पटक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको जुम्ला रारा अल्ट्रा म्याराथुन बुधबार (आज) हुने भएको छ । कर्णाली पर्यटन वर्ष घोषणा गरेसँगै जुम्लाका विभिन्न पर्यटकीय क्षेत्रहरु चन्दननाथ मन्दिर, तातोपानी धारा आदि स्थानमा आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।
‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराई पर्यटन प्रर्वद्धन गर्नका लागि अल्ट्रा म्याराथुन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने प्रयास गरिएको हो ।

प्रतियोगितामा ८० खेलाडी सहभागी भएका छन् । जिल्ला बाहिरका मात्रै ३६ खेलाडीले सहभागिता जनाएका छन् । विभिन्न प्रतियोगितामा गएर उपाधि पाइसकेका खेलाडीहरु पनि सहभागी छन् । तीमध्ये १६ जना महिला रहेका छन् ।
जुम्ला सदरमुकामदेखि शुरु भएको दौड मुगुको हुटु लेकमा सकिने सकिने छ । अध्यक्ष सरोज शाहीका अनुसार ४९ किलोमिटर दौड हुने प्रतियोगितामा विजेताका दाबेदार खेलाडीले १० घण्टामा मिड प्वाइन्टमा पुगिसक्नु पर्ने छ ।
जुम्ला रारा अल्ट्रा म्याराथुनलाई सफल पार्नका लागि अन्तर्राष्ट्रिय धावकदेखि एथेलेटिकका केन्द्रीय प्रशिक्षक जुम्लामा पुगेका छन् । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले खेलको संस्थागत विकासका लागि एक खेल एक प्रशिक्षकको नीति ल्याएको बताइन् ।