कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५
262

नेपालगन्ज-अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन एम्पायर कोर्षका लागि नेपालगन्जकी समन इकवाल सिद्दीकी इन्डोनेसिया जाने भएकी छन् । पाकिस्तानमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय कोर्ष अध्ययन गरेर आएकी समन अर्काे चरणको प्रशिक्षणका लागि इन्डोनेसिया जान थालेकी हुन् ।
समनको प्रतिभालाई विश्वभर पुराउन नेपालगन्जमा उनको सम्मानसँगै उनलाई सहयोग घोषणा गरिएको छ । “आफ्नै निजी प्रयासमा अगाडि बढिरहेकी समनलाई देशले साथ दिनुपर्छ,” नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष सन्जय थापाले सम्मान र प्रोत्साहन कार्यक्रममा भने, “उनी आफ्नो निजी खर्चमा देशको झन्डा बोकेर इन्डोनेसिया पुग्दैछिन् ।”

नेपालगन्जमा राम्रो खेलाडीको पहिचान देखाएकी समन घरपरिवारबाट राम्रो सहयोग पाएर नै एम्पायर कोर्षमा उत्साहित हुँदै अगाडि बढेकी हुन् ।
“घरपरिवारको राम्रो सहयोगले अहिले यस स्थानमा पुगेकी छु,” समनले भनिन्, “यस पटकको यो सहयोग र सम्मानले मलाई निकै हौषला मिलेको छ । आगामी साउन ७ गते एक साताको प्रशिक्षणका लागि इन्डोनेसिया जान लागेकी समनलाई व्यक्तिगत तथा संस्थागतरुपमा सहयोग प्रदान गरिएको छ । ‘खेलकुद स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको पहिचानको लागि हो,” नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष थापाले भने ।
क्लबले आयोजना गरेको खेलाडीका लागि सम्मान तथा बिदाइ कार्यक्रममा अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा बाँकेका उत्कृष्ट भएका खेलाडीलाई सम्मान पनि गरिएको छ । सरोज अन्सारी, शिवु थापा, समिर न्यौपाने, सफल थापा र सुस्मा श्रेष्ठलाई सम्मान गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रको विकासका लागि ऊर्जा दिन सकिने भूमिका खेलिरहेको बताए । खेलकुदले सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने माध्यमको रुपमा विकास भइरहेको प्रजिअ केसीको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले खेलाडी सम्मानले खेलको विकासमै सकारात्मक परिणाम प्राप्त हुने बताए । “वास्तवमा नेपालगन्ज ब्याडमिन्टनको इतिहासमा सिमित नहोस् भन्नका लागि नयाँ प्रतिभाहरुलाई प्रोत्साहन जरुरी छ,” कार्यक्रमको सहजीकरण गरिरहेका खेल पत्रकार टिएस ठकुरीले भने ।