कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५
437

पोखरा-पोखराको चाउथेमा निर्माण हँुदै गरेको कराँते प्रशिक्षण हलको करिब ८० प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । पर्यटकीय नगरी पोखरामा विदेशी लगानीसहित निजीस्तरबाट निर्माण हुन लागेको उक्त प्रशिक्षण हलको ८० प्रतिशत निर्माणकार्य सम्पन्न भएको नेपाल सितोरियो सेको काई कराँते संघका अध्यक्ष सुष्मा गुरुङले बताइन् ।
अमेरिकाको हिमालयन फाउन्डेसन (क्राप) र स्थानीय संघसंस्थको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त प्रशिक्षण हल आगामी दुई महिनाभित्र प्रशिक्षण गराउने गरी हल सञ्चालनमा आउने अध्यक्ष गुरुङले बताइन् । उनका अनुसार उक्त भवनको पहिलो तलामा प्रशिक्षण हल हुनेछ भने दोस्रो तलामा प्रशिक्षण केन्द्रको कार्यालयसहितको कोठा निर्माण हुने भएको छ । प्रशिक्षण हलसहितको भवन निर्माणमा करिब ८० लाख खर्च लाग्ने भए पनि हालसम्म हिमालयनबाट ३० हजार अमेरिकी डलर अर्थात् करिब ३५ लाख रुपैयाँ प्राप्त भएका संघले जनाएको छ । बाँकी रकम स्थानीय विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग भएको तथा केही रकम पुनः अमेरिकाबाट आउने अध्यक्ष गुरुङले बताइन् । फाउण्डेसनका संस्थापक÷अध्यक्ष यज्ञलाल श्रेष्ठको पहलमा अमेरिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गरी दाताबाट संकलित रकम पोखरासहित नेपालको खेलकुदको विकासका लागि कराँतेको प्रशिक्षण हल निर्माणको लागि सहयोग गरेका हुन् ।

पोखरा–लेखनाथ महानगरपालिका–१४ स्थित चाउथे पार्दी चौतारा क्षेत्रमा उक्त हल निर्माण भएसँगै पोखरा क्षेत्रबाट खेलाडी उत्पादन हुने अध्यक्ष गुरुङले विश्वास लिएकी छन् । पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण हलसहितको एकेडेमी निर्माण गर्ने लक्ष्य रहेको उनले बताइन् । उनका अनुसार पोखरा क्षेत्रमा हाल सितोरियो सेको काई कराँतेका करिब ५५ जना खेलाडी छन् भने सन २०१६ मा जापानमा भएको वल्र्ड च्याम्पियनसिपमा कास्कीकी खेलाडी रुविस्का तामाङले कास्य र रजत पदक जित्न सफल भएकी थिइन् ।
हिमालयनको यो पाचौ प्रोजेक्ट हो भने यसअघि छात्रवृत्तिदेखि भूकम्पलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । एसियन गेम, ओलम्पिकमा समेत सहभागी यस खेलमा नेपालको पदकको राम्रो सम्भावना देखेर आफूहरूले एकेडेमी सञ्चालन गर्ने योजनाका साथ अघि बढेको अध्यक्ष गुरुङले बताइन् ।